सरकारले मनाङको चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि गर्यो खुला
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
385
Shares
काठमाडौँ । सरकारले दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने चुलु सुदूरपूर्व (चुली) हिमाललाई आरोहणका लागि खुला गरेको छ। यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित यो हिमालको उचाइ ६,०३८ मिटर रहेको छ।
चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि दुईवटा मुख्य मार्ग प्रयोग गर्न सकिन्छ। एउटा मार्ग जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ हुँदै जान्छ भने अर्को मार्ग चामे, सिपाङ, हुम्डे, मनाङ भएर आधार शिविरसम्म पुग्छ।
यो हिमाल अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने र नेपालका अन्य चुचुराको तुलनामा आरोहणका लागि सजिलो मानिने आरोहीहरू बताउँछन्। यसको आरोहणलाई प्रायः अन्नपूर्ण सर्किट ट्रेक सँग जोड्ने गरिन्छ। यो हिमालबाट अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो, धवलागिरि, तिलिचो र मनास्लु जस्ता हिमालका मनमोहक दृश्यहरू पनि हेर्न सकिन्छ।
हिमालको व्यवस्थापनको जिम्मा नेपाल पर्वतारोहण सङ्घले लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १२ गते नै राजपत्रमा सूचना प्रकाशित गरी आरोहणका लागि अनुमति दिएको हो।