arrow

सुन खानी भत्किँदा छ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
gold-bbc.jpg

काठमाडौँ । सुडानको उत्तरी क्षेत्रस्थित एक सुन खानी भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २० जनासम्म फसेको आशङ्का गरिएको छ। यो दुखद घटना शुक्रबार रिभर नाइल राज्यको बेर्बर सहर नजिकैको उम आउद क्षेत्रको सुन खानीमा भएको हो। बेर्बरका कार्यकारी निर्देशक हसन इब्राहिम करारले फसेका मानिसको उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।

सुडानमा अप्रिल २०२३ देखि सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध जारी छ। दुवै पक्षले आफ्नो युद्ध खर्चका लागि देशको सुन उद्योगबाट आर्थिक स्रोत जुटाइरहेका छन्।

अधिकारी र गैरसरकारी संस्थाका अनुसार, सुडानको अधिकांश सुन संयुक्त अरब इमिरेट्स (युएई) हुँदै निर्यात हुन्छ। युएईमाथि आरएसएफलाई हतियार आपूर्ति गरेको आरोप लागे पनि युएईले यसलाई अस्वीकार गरेको छ।

युद्धका बाबजुद, सेना–समर्थित सरकारले सन् २०२४ मा ६४ टन सुन उत्पादन गरेको रेकर्ड घोषणा गरेको थियो। तर, सुडानको अधिकांश सुन साना र अव्यवस्थित खानीबाट निकालिन्छ, जहाँ सुरक्षाका उपायहरू निकै कमजोर छन्। यसले खानी कामदार र वरपरका समुदायको स्वास्थ्यमा गम्भीर जोखिम पुर्याएको छ।

सुडानको यो युद्धले हजारौँ मानिसको ज्यान लिनुका साथै करिब १० लाख मानिसलाई विस्थापित गरेको छ। २५ लाखभन्दा बढी मानिस भोकमरीको उच्च जोखिममा छन्। विशेषज्ञहरूका अनुसार, युद्धका दुवै पक्षले उत्पादन गरेको अधिकांश सुन चाड, दक्षिण सुडान र इजिप्ट हुँदै युएई पुग्छ, जुन अहिले संसारको दोस्रो ठूलो सुन निर्यातक हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ