पहिलो महिला महान्यायाधिवक्ताको अनुभूतिः पेशामा पटक-पटक आत्मग्लानि [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
1k
Shares
काठमाडौँ । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानिको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।
बिहीबार काठमाडौँमा आयोजित महिला सरकारी वकील सम्मेलनलाई सम्बोधन गर्दै उनले पेशागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् ।
‘विवाह गरेँ, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेशामा आउँदा भने पटक-पटक आत्मग्लानी भएको छ । तर हामी आत्तिनु हुँदैन, म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ ।’
भण्डारीले महिलाको नेतृत्वले हासिल गरेको वर्तमान अवस्थालाई सकारात्मक परिवर्तनको संकेतको रूपमा लिँदै सबैलाई आशावादी बन्न आग्रह गरिन् ।
‘अब हामी आएका छौँ । प्रधानन्यायाधीश महिला पाएका छौँ, राष्ट्रपति महिला पाएका छौँ, सभामुख महिला पाएका छौँ, महान्यायाधिवक्ता पनि महिला पाएका छौँ । यसमा हामी खुशी हुनुपर्छ’, उनले भनिन् ।
महान्यायाधिवक्ता भण्डारीले सरकारी वकिल सेवा र न्यायिक इतिहासको सन्दर्भमा २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तिदेखि शुरु भएको यात्रालाई स्मरण गर्दै उक्त सेवा सरकारको हकहितको संरक्षणमा महत्वपूर्ण रहँदै आएको बताइन् ।
‘आज हामी एउटा ऐतिहासिक क्षणको साक्षी बनेका छौँ । विं.स. २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तसँगै शुरू भएको यात्रा सात दशक लामो संस्थागत विकास र सरकारको हकहितको संरक्षणमा सरकारी वकीलले निर्वाह गरेको गौरवशाली योगदानलाई स्मरण गर्दै नयाँ उर्जा र आशाको सञ्चार गरेको छ,’ उनले भनिन् ।
कार्यक्रममा महिला सरकारी वकिलहरूको सशक्तीकरण, न्यायिक प्रणालीमा लैङ्गिक समानता र नेतृत्व विकासका विविध पक्षमा छलफल भएको थियो ।