arrow

जेन-जी आन्दोलनमा भएको तोडफोड लोकतन्त्रमाथिको आक्रमण हो: प्रवक्ता महत

देशका सम्पत्तिहरू नष्ट गर्ने प्रवृत्तिमा लोकतन्त्र विरोधी र देशको प्रगतिमा ईर्ष्या गर्ने शक्तिहरू सामेल रहेको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
mahat-prakassharan.jpg

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन-जी आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण भएको बताएका छन्। आइतबार महाराजगञ्जस्थित आफ्नो निजी निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आन्दोलनका क्रममा ज्यान गुमाउने घटनालाई दुःखद भन्दै युवा पुस्ताले उठाएका सुशासन र अभिव्यक्ति स्वतन्त्रताका विषयहरू जायज भएको स्वीकार गरे। तर, देशका सम्पत्तिहरू नष्ट गर्ने प्रवृत्तिमा लोकतन्त्र विरोधी र देशको प्रगतिमा ईर्ष्या गर्ने शक्तिहरू सामेल रहेको उनको आरोप छ।

प्रवक्ता महतले शासन सञ्चालन गर्ने क्रममा राजनीतिक दलहरूबाट कमजोरी भएको स्वीकार गर्दै ती कमीकमजोरीहरूलाई कानुनसम्मत ढंगबाट हटाउन सकिने बताए। उनले जनप्रतिनिधिको संस्था संसद विघटन हुनु नराम्रो भएको भन्दै त्यसको विरोध गरेको बताए। उनका अनुसार, लोकतान्त्रिक र संवैधानिक व्यवस्थामा उभिएर नै कमीकमजोरीहरू हटाउन र सुशासन सुनिश्चित गर्न सकिन्छ।

उनले दुवै दिनको घटनाको गम्भीर छानबिन गरी दोषीउपर कारबाही हुनुपर्नेमा जोड दिए। साथै, अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन सकिने भए पनि त्यो हुन नसकेको उनले बताए। अब आउने दिनमा लोकतान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण गर्ने प्रवृत्तिबाट देशलाई जोगाउनु नै सबैको जिम्मेवारी भएको उनको भनाइ छ।

प्रवक्ता महतले सबै नेता भ्रष्ट छन् भन्ने भाष्य स्थापित गर्न खोजिएको दाबी गर्दै यो सरासर गलत भएको बताए। उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने धेरै नेताहरू पनि रहेको उल्लेख गरे।

उनले अहिलेको कठिन परिस्थितिमा सबैलाई सन्तुलित र संयम हुन आग्रह गरे। जेन-जी आन्दोलनका क्रममा प्रवक्ता महतको महाराजगञ्जस्थित घरमा पनि तोडफोड र आगजनी भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ