काँक्रेविहार (सुर्खेत)। दशैँको मुखमा उपल्लो डोल्पाका तीनवटा पालिकास्थित धो, सालदाङ र तिन्जेमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्रहरूमा खाद्यान्नको अभाव भएको छ। गत आर्थिक वर्षको चामल सकिएपछि नयाँ चामलका लागि ठेक्का नलागेकाले यस्तो समस्या आएको हो।
डोल्पा शाखाका प्रमुख विष्णु घिमिरेले खाद्यान्न अभावले स्थानीयलाई समस्या भएको बताए। शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले कम्पनीले २५ किलो चामललाई २,२१९ रुपैयाँमा बेच्ने भए पनि बाहिरबाट खरिद गर्दा ४,५०० रुपैयाँसम्म पर्ने बताए। उनले दसैं, तिहारजस्ता पर्व नजिकिँदै गर्दा खाद्यान्न अभाव हुनु चिन्ताजनक रहेको भन्दै मंसिरभित्र चामल ढुवानी नभए ठूलो खाद्य संकट निम्तिने चेतावनी दिए। हिउँदमा हिमपात हुने भएकाले असोजको अन्तिमसम्ममा चामल ढुवानी हुनुपर्नेमा उनले जोड दिए।
उपल्लो डोल्पामा शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गरी तीन गाउँपालिका पर्दछन्, जुन चीनसँग सिमाना जोडिएका छन्।
यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले भने कर्णाली प्रदेशका सबै जिल्लामा रहेका खाद्य डिपो तथा बिक्री केन्द्रहरूमा पर्याप्त खाद्यान्न उपलब्ध रहेको जनाएको छ। प्रादेशिक प्रमुख केशवराज बुढाका अनुसार, प्रदेशका ५१ मध्ये हाल ४२ ठाउँबाट खाद्यान्न बिक्री भइरहेको छ। कर्णालीमा १५ वटा डिपो, २८ वटा बिक्री केन्द्र, ८ वटा शाखा र एउटा प्रादेशिक कार्यालय रहेका छन्।