काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट विभाजित भएका पाँच राजनीतिक दलका केन्द्रीय नेताहरूले पार्टी एकताका लागि नेतृत्वलाई संयुक्त अपिल गरेका छन्।
जनता समाजवादी पार्टी (उपेन्द्र यादव), लोकतान्त्रिक समाजवादी पार्टी (महन्थ ठाकुर), जनता समाजवादी पार्टी (अशोक राई), नागरिक उन्मुक्ति पार्टी, र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का युवा नेताहरूले जेन–जी आन्दोलनपछि विकसित घटनाक्रमलाई ध्यानमा राखेर यस्तो निष्कर्षमा पुगेको बताएका छन्।
उनीहरूले जारी गरेको अपिलमा भनिएको छ, "समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध गरी वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढ्नु उपयुक्त हुने हाम्रो ठहर छ।" उनीहरूले विगतका कमीकमजोरी सच्याउँदै समाजवादी आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सम्बन्धित दलको नेतृत्वसँग जोडदार माग पनि गरेका छन्।
अपिलमा उल्लेख भएअनुसार, मुलुकको आवश्यकता, आन्दोलनको मर्म, र पार्टीका आम कार्यकर्ताको भावनालाई नेतृत्वले गम्भीरताका साथ आत्मसात् गर्ने अपेक्षा गरिएको छ।
यस अपिलमा जसपा नेपालका पूर्ण बस्नेत र खेमराज खड्का, लोसपा नेपालका रामेश्वर यादव र सुजन यादव, जसपाका प्रेमनारायण थापा, अर्जुन लम्साल र ज्ञानु आचार्य, नागरिक उन्मुक्ति पार्टीका दीपबहादुर तामाङ, गीता चौधरी र दोर्जे तामाङ, तथा नेसपा (नयाँ शक्ति) का विष्णु प्रसाद पौडेल र प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन्।