भादगाउँ (भक्तपुर)। महानवमीको अवसरमा भक्तपुरमा परम्परागत ऐतिहासिक तथा सांस्कृतिक 'खःमेय् व्वाकेगु' (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ। यहाँ 'खःमेय्' (राँगो) लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी यो जात्रा मनाइने परम्परा रहेको छ, जसलाई विजयादशमीको एक महत्त्वपूर्ण जात्राका रूपमा लिइन्छ।
संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुने धार्मिक लोक मान्यता छ। त्यसै रूपमा महिषासुर 'बध' गर्ने प्रचलित मान्यताअनुरूप आजको दिन खःमेय्लाई बलिपूजा गरी जात्रा मनाइन्छ।
यो जात्रामा नवदुर्गा द्योःछें (देवगृह) मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिउभरी सिन्दुर र तेल लगाई लठ्ठ पारिन्छ। त्यसपछि तान्त्रिक विधिअनुरूप पूजाआजा गरी नवदुर्गा द्योःछेंबाट बाहिर निकालेर दौडाउने र ब्रम्हायणी पीठसम्म पुर्याइने गरिन्छ।
नवदुर्गा भवानीलाई चढाइने खःमेय् निख्खर कालो, १०० धारनी तौल भएको मोटोघाटो र टाउकोमा दुई/दुई चक्करसहित शरीरमा सात वटा चक्र जस्ता विशेष लक्षण भएको हुनुपर्ने मान्यता छ।
बलि दिइएको खःमेय्को मासुका ससाना टुक्राहरू प्रसादका रूपमा घरमा लगी सुकुटी बनाइन्छ। त्यसैगरी, उक्त मासुलाई धुलो पारेर घ्यूमा मुछी धूप बनाउने चलन छ। यो धूप लक्ष्मीपूजाको दिनमा बाल्ने गरिन्छ। धार्मिक विश्वासअनुसार, त्यस दिन यो धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने मान्यता रहेको छ।