डुम्रे (तनहुँ)। दशैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपालीको मौलिक संस्कृति भए पनि समयको परिवर्तन, आधुनिकीकरण र युवा पुस्ताको प्रवास बसाईका कारण यो परम्परा क्रमशः लोप हुँदै गएको छ। पिङलाई नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा मानिए पनि यसको अस्तित्व अहिले जोखिममा परेको छ।
लोपोन्मुख अवस्थामा पुगेको यो परम्परालाई निरन्तरता दिन स्थानीय युवाहरू सक्रिय भएका छन्। भानु नगरपालिका–१२ स्थित घलेछाप युवा क्लबका अध्यक्ष कुशलचन्द्र अधिकारीले पिङ बिना गाउँमा दशैँको रौनक नआउने बताए। उनले भने, "लोप हुन नदिन समुदायबाट बाँस र डोरीको सहयोग जुटाएर लिङ्गे पिङ हालिएको हो।" क्लबले घलेछाप पुतली चौतारामा पिङ हालिसकेको छ।
यसैगरी, बन्दीपुर गाउँपालिका–२ स्थित चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले पनि मौलिक संस्कृतिको संरक्षणका लागि खर्च जुटाएरै भए पनि पिङ बनाउने परम्परालाई निरन्तरता दिइएको बताए।
स्थानीय बुढापाकाको अनुभवमा केही वर्षअघिसम्म गाउँ–चोकमा सहजै देखिने लिङ्गे पिङ, रोटे पिङ र चर्के पिङ अहिले हराउँदै गएका छन्। व्यास–७ कलेस्तीका प्रदीप घिमिरेले "हाम्रा परम्परालाई संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको छ। संरक्षण गर्न सकिएन भने पछिल्ला पुस्ताका लागि पिङ कथा जस्तै लाग्नेछन्," भन्दै चिन्ता व्यक्त गरे।
पिङ लोप हुनुका कारणहरूमा बलियो सालको काठका लागि वन कार्यालयको अनुमति लिनुपर्ने, जनशक्ति र सीपको कमी, र प्रविधिको विकास तथा आधुनिक मनोरञ्जनका विकल्पहरू बढेको पाइएको छ।
चामुण्डा युवा क्लबका संयोजक नरेश बानियाले पिङ वर्षौँ पुरानो र जीर्ण अवस्थामा पुग्न लागेकाले संयमित भएर खेल्न र खेलाउन आग्रह गरेका छन्। उनले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी खेल्न तथा खेलाउन पूर्ण रूपमा रोक लगाइएको जानकारी दिए।
उनले सम्भावित दुर्घटनालाई न्यूनीकरणमा आफैँ सचेत हुनुपर्नेमा जोड दिँदै भने, "हर्षोल्लासका साथ दशैँ, तिहार मनाउन राखिएको पिङको पनि संरक्षण गर्दै सम्भावित दुर्घटनालाई न्यूनीकरणमा समेत आफैँ सचेत हुनुपर्छ।"