कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले आगामी केही दिन भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ।
प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले यो जोखिम बढेको जानकारी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार, विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायतका क्षेत्रमा पदयात्रामा नजान सार्वजनिक सूचनामार्फत सचेत गराइएको छ।
उहाँले जीउज्यानको सुरक्षा लाई ध्यानमा राख्दै 'ट्रेकिङ'का लागि कुनै पनि स्थानमा ननिस्कन आग्रह गरिएको बताउनुभयो। दसैँको बिदामा पदयात्रीहरूको भीड लाग्ने समयमा प्रशासनले भारी वर्षा तथा हिमपातको पूर्वानुमानसहित अनुरोध गरेपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ।
प्रशासनले वर्षाका कारण बाढीपहिरो, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन भनेको छ। कुनै घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी एकाइ वा सुरक्षा निकायमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।