पर्वत । वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन भन्दा बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन् ।
मनसुन सकिन थालेसँगै पर्यटकका पर्खाइमा रहेको भए पनि तत्काल पर्यटक आउने सम्भावना नरहेको भन्दै चिन्तित बनेका छन् । वर्षायाम शुरू भएसँगै गत असारदेखिनै पर्यटकहरुको आगमनमा कमी भएपछि यहाँ सञ्चालित होमस्टे सुनसान बनेका हुन् ।
यहाँका सातवटै पालिकामा गरी ६२ घरबास सञ्चालनमा छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा छ, महाशिला गाउँपालिकामा नौ, पैंयुँमा तीन र विहादीमा सातवटा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । यी सामुदायिक होमस्टे हुन् भने दुईवटा निजी होमस्टेसमेत सञ्चालनमा छन् ।
जिल्लाको कुश्मा नगरपालि-३ दुर्लुङ्ग, वडा नं १४ आर्थर, फलेवास-२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुङ्खु, बिहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे तथा पैंयु गाउँपालिकाको नेकर्गा र चिन्नेखर्कलगायतका स्थानमा सञ्चालित घरबास वर्षायामका कारण ठप्पजस्तै रहेको सञ्चालकले बताएका छन् ।
गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको मोदी-८ चित्रेस्थित पञ्चकोशी सामुदायिक होमस्टेमा मात्र गत वर्षमा चार हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए ।
धेरैको रोजाइमा पर्दै आएको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’ मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम अब सुरु हुने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहको मन जित्दै आएको छ ।
अहिले वर्षायाम भएकाले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या शून्यजस्तै छ । अब विस्तारै हिउँदयाम शुरू भएपछि पर्यटक आउने क्रम शुरू हुने गुरुङले बताइन् ।
चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या धेरै छ ।
होमस्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ ।
खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेलरोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसोपानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ ।
चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए। अहिले सडक समेत अवरुद्ध भएकाले पर्यटक आउन सकेका छैनन् ।
यस्तै मोदी-१ भुकताङ्लेमा रहेको लप्सीबोट सामुदायिक र भुक देउराली नमूना सामुदायिक होमस्टे पनि सुनसान छन् ।
गाउँ जोड्ने पातीचौर-देउपुर-लप्सीवोट सडक एक महिनादेखि अवरुद्ध हुँदा पर्यटक आउन नसकेको वडाध्यक्ष टेकबहादुर गुरुङले बताए। वर्षायाममा न्यून पर्यटक आउने भए पनि सडक समेत अवरुद्ध हुँदा झनै ठप्प बनेको उनले जानकारी दिए ।
नियमित वर्षा भइरहँदा जिल्लाका अन्य होमस्टेहरुमा पनि पर्यटकको चहलपहल बढ्न नसकिरहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयका अनुसार वर्षा रोकिएपछि चाडबाड शुरू हुने र पर्यटनको मौसमसमेत शुरू हुने भएकाले चहलपहल बढ्ने कार्यालय प्रमुख अशोक नेपालीले बताए । रासस