काठमाडौँ । अल्बानियाको राजधानी तिरानास्थित एक अदालतमा सोमबार बयान दिन पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाई गरिरहेका न्यायाधीशको मृत्यु भएको छ। यो आक्रमणमा अन्य दुई जना घाइते भएका छन्।
आक्रमणकारीले पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजाले सुनुवाई गरिरहेको मुद्दाको क्रममा गोली चलाएका थिए। गोली लागि गम्भीर घाइते भएका न्यायाधीशलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले गोली हान्ने व्यक्तिलाई तुरुन्तै पक्राउ गरिसकेको छ। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार यो मुद्दा सम्पत्तिको विवाद बारे थियो र अभियुक्तले आफूले मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई गोली हानेका थिए।
आक्रमणबाट मुद्दाको अर्को पक्षका एक बाबुछोरा पनि घाइते भएका छन्। उनीहरूलाई अस्पताल लगिएको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जानकारी गराएको छ।
अल्बानियाका प्रधानमन्त्री एडी रामाले घटनालाई 'दुखद' भन्दै बन्दुकसँग सम्बन्धित अपराधका लागि कडा सजाय हुने बताउनुभएको छ। उहाँले आक्रमणकारीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गर्नुभएको छ।
राष्ट्रपति बजराम बेगजले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई 'सम्पूर्ण न्याय प्रणालीमाथि भयानक आक्रमण' को संज्ञा दिनुभएको छ। अल्बानियाली कानुनअनुसार अवैध रूपमा बन्दुक राख्नेलाई तीन वर्षसम्मको जेल सजाय हुन्छ।