arrow

डार्फर युद्ध अपराधमा सुडानी मिलिशिया प्रमुख दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
icc-court.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले सोमबार सुडानी मिलिशिया प्रमुख अली मोहम्मद अलि अब्द–अल–रहमानलाई डार्फरमा भएको क्रूर आक्रमणको क्रममा युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि दोषी ठहर गरेको छ।

आइसिसीले अब्द–अल–रहमानलाई सन् २००३ अगस्टदेखि सन् २००४ अप्रिलसम्म भएका बलात्कार, हत्या र यातनासहित विभिन्न अपराधहरूमा दोषी ठहर गरेको हो।

आइसिसीका प्रमुख न्यायाधीश जोआना कोर्नरले अभियुक्त निर्दोष नरहेकोमा अदालत पूर्ण रूपमा विश्वस्त रहेको बताइन्। उनले सामूहिक बलात्कार, दुर्व्यवहार र सामूहिक हत्याका डरलाग्दा विवरणहरूले रहमानलाई दोषी प्रमाणित गर्ने पर्याप्त आधारहरू रहेको पनि बताइन्।

न्यायाधीश कोर्नरले रहमानले लगभग ५० जना नागरिकहरूलाई ट्रकमा हालेर केहीलाई धारीलो हतियारले प्रहार गर्न लगाएको र त्यसपछि उनीहरूलाई गोली हानेर मार्न आदेश दिएको पुष्टि भएको बताइन्। उनले रहमानले आदेश मात्र नदिएर व्यक्तिगत रूपमा कुटपिटमा संलग्न भएको र मृत्युदण्डको आदेश दिएको प्रमाण भेटिएको समेत बताएकी छिन्। अब्द–अल–रहमान सुडानको कुख्यात जञ्जाविद मिलिसियाका प्रमुख सदस्य थिए र धेरै युद्ध अपराधहरूमा 'सक्रिय' रूपमा सहभागी थिए।

सन् १९४९ मा जन्मेका यी मिलिशिया प्रमुखले अदालतमा सुनुवाइका क्रममा आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गरेका थिए। उनले आफूलाई 'अली कुशायब' भनेर अदालतले खोजेको व्यक्ति नभएको दाबी गर्दै "ममाथि लगाइएको आरोपसँग मेरो कुनै सम्बन्ध छैन," भनेका थिए। तर, न्यायाधीश कोर्नरले प्रतिरक्षाका साक्षीहरूको बयान खारेज गर्दै अदालतले खोजी गरेको व्यक्ति नै अब्द–अल–रहमान भएको स्पष्ट पारेकी छिन्।

न्यायाधीशले नोभेम्बर १७ देखि २१ मा थप सुनुवाइपछि 'उचित समयमा' फैसला जारी गरिने र पछि सजाय सुनाइने बताएकी छिन्।

सुडानको नयाँ सरकारले आइसिसीको अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेपछि अब्द–अल–रहमान फेब्रुअरी २०२० मा मध्य अफ्रिकी गणतन्त्रतर्फ भागेका थिए र पछि आत्मसमर्पण गरेका थिए। डार्फर क्षेत्रमा गैर–अरब जनजातिहरूले व्यवस्थित भेदभावको गुनासो गर्दै सरकारविरुद्ध हतियार उठाएपछि लडाइँ सुरु भएको थियो। संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २००० को दशकमा डार्फर द्वन्द्वमा तीन लाख मानिस मारिएका थिए भने २५ लाख विस्थापित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ