प्रतिरोध प्रणालीको महत्त्वपूर्ण खोजका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
2.2k
Shares
काठमाडौँ। यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार शरीरको प्रतिरोध प्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण अनुसन्धान गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ।
सन् २०२५ को यो प्रतिष्ठित पुरस्कार संयुक्त राज्य अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र जापानका शिमोन साकागुचीलाई प्रदान गरिने भएको छ। उनीहरूलाई शरीरको प्रतिरोध प्रणालीमा 'रेग्यलेटरी टी–सेल' भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानका लागि पुरस्कृत गरिएको हो।
नोबेल पुरस्कार समितिले उनीहरूको यो महत्त्वपूर्ण खोजले अहिले परीक्षण हुँदै गरेका विभिन्न चिकित्सकीय उपचारविधिलाई सुदृढ बनाउन सक्ने बताएको छ। यो खोजको आधारमा विकसित हुने उपचारविधिले भविष्यमा स्वप्रतिरक्षात्मक रोगहरूको उपचारलाई सहज बनाउने, क्यान्सरको उपचारलाई अझ प्रभावकारी बनाउने र 'स्टेम सेल' प्रत्यारोपण गर्दा उत्पन्न हुन सक्ने गम्भीर जटिलतालाई रोकथाम गर्न सकिने विश्वास गरिएको छ। विजेता तीनै जनालाई संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर (८.७० लाख पाउन्ड) नगद पुरस्कार र पदकबाट सम्मानित गरिनेछ।
नोबेल पुरस्कार प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी पाँच विधामा प्रदान गरिन्छ। स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका हुन्, जसले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी जम्मा गरेका थिए। नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो। पछि सन् १९६८ मा स्वीडेनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो।