रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन वैज्ञानिकलाई: एमओएफ प्रविधिको विकासका लागि सम्मान
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
2.3k
Shares
काठमाडौँ। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने घोषणा नोबेल पुरस्कार छनोट समितिले बिहीबार गरेको छ।
जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागी लाई 'मेटल–अग्र्यानिक फ्रेमवर्क' (एमओएफ) को विकास गरेकामा सन् २०२५ को नोबेल पुरस्कार दिन लागिएको हो। समितिका अनुसार यी वैज्ञानिकहरूले 'मलिक्यूलर आर्किटेक्चर' को नयाँ शैली विकास गरेका छन्। एमओएफ भनेको धातुका आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना हो, जसको पर्यावरण शुद्धीकरणसहित विभिन्न महत्त्वपूर्ण प्रयोजनमा प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन्। यी वैज्ञानिकहरूले सन् १९९२ देखि २००३ मा एमओएफ बारे भिन्नाभिन्नै खोज गरेका थिए।
क्योटो विश्वविद्यालयमा प्राध्यापक रहेका सुसुमु कितागावा को जन्म सन् १९५१ मा जापानमा भएको हो। मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापनरत रिचर्ड रब्सन को जन्म सन् १९३७ मा बेलायतमा भएको थियो भने बर्कलीस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक रहेका ओमर यागी को जन्म सन् १९६५ मा जोर्डनमा भएको हो। पुरस्कार घोषणा सभामा फोनमार्फत् बोल्दै प्राध्यापक कितागावाले आफ्नो खोज पुरस्कृत भएकोमा आफू 'सम्मानित महसुस' भएको बताए।
नोबेल पुरस्कार समितिले यसअघि नै सोमवार चिकित्साशास्त्रतर्फ र मङ्गलवार भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरिसकेको छ। अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्र विधाका विजेताको नाम घोषणा गरिनेछ।