बाढीपहिरोका कारण तीन प्रदेशका नौ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
1k
Shares
काठमाडौँ। देशका विभिन्न स्थानमा लगातार परेको वर्षाका कारण आएको बाढीपहिराले तीन प्रदेशका नौ मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार, कोशी, बागमती र कर्णाली प्रदेशमा यी सडकहरू अवरुद्ध भएका हुन्।
प्रहरी केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा सडकहरू अवरुद्ध भएका छन्।
कोशी प्रदेशमा सङ्खुवासभाको भोटखोला–४ मा वरुणखोलास्थित कोशी राजमार्ग र मकालु–३ मा एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएको छ। यस्तै, इलामको इलाम नपा–९ मा राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको तुम्बेवा–२ मा नावाखोलास्थित तमोर करिडोर पनि अवरुद्ध भएका छन्।
बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड–२ मा पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी–११ मा माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी–१ मा नेपालथोकस्थित वीपी राजमार्ग समेत पूर्णरूपमा अवरुद्ध भएका छन्।
कर्णाली प्रदेशमा हुम्लाको खार्पुनाथ–५ मा कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना–८ मा जुगेनीखोलास्थित कर्णाली करिडोर पनि पूर्णरूपमा अवरुद्ध भएका छन्।
यसैगरी, वर्षाका कारण अवरोध आए पनि केही सडकहरूलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। ती सडकहरूमा धनकुटाको साँगुरीगढी–१ मा कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी–८ मा बगुवाखोलास्थित कान्ति लोकपथ सडक, र मकवानपुरकै वकैया–११ मा घटटेपाखास्थित कान्ति लोकपथ रहेका छन्।