निर्वाचनका लागि सरकार गम्भीर नभए विकल्पमा संसद पुनःस्थापना : कांग्रेस
निर्वाचनका लागि कांग्रेस जहिले पनि तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभए संसद पुनःस्थापनाको विकल्प हुन सक्ने, बैठक शुक्रबार पनि
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
4.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निर्वाचनका लागि कांग्रेस जहिले पनि तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभए संसद पुनःस्थापनाको विकल्प हुन सक्ने बताएका हुन् ।
पार्टीको बिहीबारबाट शुरू भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै महतले यस्तो बताएका हुन् । उनले जेन-जी आन्दोलनमा गोली चलाउनेको पहिचान गरेर कारवाही हुनुपर्ने कुरा बैठकमा उठेको जानकारी दिए ।
डा महतले गत भदौ २४ गतेको जेन-जी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताए ।
नेताहरूको घर जलाइएको, किसुनजीको आश्रम जलाइएको, लोकतान्त्रिक मूल्य-मान्यतालाई सिध्याउने षड्यन्त्र भइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
उनले अराजकतालाई कारबाही नगर्दा पुँजी पलायन हुने खतरा बढेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गरे ।
वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी रहेको प्रवक्ता महतले जानकारी दिए । पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भइरहेको उनले बताए ।
बैठक शुक्रबार पनि
नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहीबारको बैठकमा पदाधिकारीले धारणा राख्नेक्रम नसकिएकाले शुक्रबार पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
उनले बैठकमा समयमा नियमित महाधिवेशन हुनुपर्छ भन्ने कुरा आएको भन्दै मङ्सिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको जानकारी दिए ।