arrow

ट्रयाक निर्माण गरी तमाेर कोरिडोर सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
tamor-karidor.jpg

पाँचथर । गत शनिबारदेखि अवरुद्ध रहेको तमोर कोरिडोर सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । पाँचथर-धनकुटा सीमामा अवस्थित नावा खोलामा सडकको ट्रयाक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो । 

सडक सञ्चालनमा आएसँगै लामो समयदेखि बाटोमा रोकेर राखिएका सवारी र ढुवानीका साधन गन्तव्यतर्फ लागेका छन् । विशेष पुल नभएका खोलामा सडकको अवरोध हटाउन समय लागेको हो । 

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले कोरिडोर सडकमा मुख्य अवरोध रहेको नावा खोलामा बाढीपहिरो पन्छाउने काम सकिएसँगै बिहीबार दिउँसो ४ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी दिए । 

तमोर कोरिडोर सडक योजना कार्यालयसहितका निकायले सोमबारदेखि नै उक्त सडकमा झरेको पहिरो पन्छाउने तथा बाढीले भत्काएका स्थानमा सडक निर्माणको काम गरिरहेका थिए ।

गत शनिबार र आइतबारको वर्षाका कारण पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मेची राजमार्ग अवरुद्ध बनेको छ भने पाँचथर-ताप्लेजुङलाई सुनसरीको धरानसँग जोड्ने तमोर कोरिडोर सडक अवरुद्ध थियो ।

तमोर कोरिडोर सडक खुलेपछि इन्धनसहितका अत्याश्यक सामग्री ढुवानी हुने प्रजिअ पोखरेलले जानकारी दिए ।

मेची राजमार्गको इलामको राजदुवाली क्षेत्रमा मात्रै अवरोध बाँकी छ । राजमार्ग अवरुद्ध भएपछि इलाम-फिदिम खण्ड बुधबारदेखि एकतर्फी सञ्चालनमा आएको छ भने माइखोला-जोरकलश खण्ड सञ्चालनमा आइसकेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ