मेची राजमार्गको इलाम–राजदुवाली खण्ड तत्काल खुल्ने सम्भावना कम, भू–संरचना जटिलता मुख्य चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
1k
Shares
इलाम। असोज १८ गतेको वर्षापछि पहिरोले भत्काएको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जमिनको बनावट (भू–संरचना) निकै जटिल भएका कारण सडक खुलाउन समस्या भएको बताएकी छन्।
प्रजिअ नेपालका अनुसार, लगातार पहिरो खस्ने र सडक भासिने समस्याका बीच सडक खुलाउने प्रयास भइरहे पनि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा गाडीहरूको आवतजावत ठप्प छ।
प्रशासनले साना गाडीका लागि वैकल्पिक बाटो खोजेको छ। आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल रुटमा साना गाडीहरू चलाइएको छ। सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड बाट साना गाडी चलाउने तयारी छ। यसका लागि सडक डिभिजनले जोगमाई खोलामा ह्युमपाइप राखेर बाटो बनाउने काम सुरु गरिसकेको छ। यद्यपि, वैकल्पिक सडकहरू साँघुरा र धेरै मोड भएकाले ठूला मालवाहक गाडीहरूका लागि भने उपयुक्त बाटो फेला परेको छैन।
सडक डिभिजन कार्यालय इलामले राजदुवाली खण्डको मर्मत कार्य अहिलेलाई रोकेको छ। सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले वैकल्पिक बाटो खुलाउनमा नै अहिले सबै जनशक्ति लगाउनुपर्ने भएकाले राजदुवालीको मर्मत स्थगित गरिएको बताएका छन्। उनले वैकल्पिक बाटो खुलेपछि मात्र राजदुवालीको मर्मतमा लाग्ने बताए।
यसैबीच, इलाम सदरमुकाम र झापाको विर्तामोड जोड्ने मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले ठूलो सहयोग गरेर काठको पुल बनाएका छन्। बाढीले फलामको पुल (बेलिब्रिज) बगाएपछि स्थानीय युवा रोशन राईको नेतृत्वमा स्थानीय र नेपाली सेनाको सहयोगमा ५० फुट लामो र आठ फिट चौडा काठको मोटरेबल पुल तयार पारिएको हो। स्थानीयले पाँच दिन लगातार श्रमदान गरेर यो वैकल्पिक पुल तयार पारेका थिए।