arrow

मणिपालका नर्सहरू आन्दोलित [भिडियो]

सरकारी मापदण्डभन्दा कम तलब र अपमानजनक व्यवहारको विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
manipalnurse.jpg

पोखरा। पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरू विगत दुई हप्तादेखि सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन्। सरकारी मापदण्डभन्दा निकै कम तलबभत्ता, जोखिम भत्ताको अभाव र अपमानजनक व्यवहारको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन्।

मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले मासिक १५ हजारदेखि २० हजार रुपैयाँ मात्रै तलबभत्ता पाउने गरेका छन्, जुन सरकारी मापदण्ड (पाँचौँ तहको रु ३४ हजार ७ सय ३०) भन्दा निकै कम हो। अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरूको गुनासो छ।

आन्दोलनरत नर्सहरू ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विरोधमा छन्।

नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग राखे पनि कुनै सुनुवाइ नभएको गुनासो गरिन्। उनले बिरामीहरूको असुविधाप्रति माफी माग्दै सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदाको माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडान व्यक्त गरिन्। उनले भनिन्, "हामीले रहरले आन्दोलन गरेका होइनौं। अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन, हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो।"

यता, अस्पताल स्रोतले भने अस्पतालको कमजोर आर्थिक अवस्थाका कारण तत्काल नर्स तथा स्वास्थ्य कर्मचारीको तलब पुनरावलोकन गर्ने अवस्था नरहेको बताएको छ। स्रोतले गण्डकी प्रदेशभरिको सबैभन्दा राम्रो सेवासुविधा दिने प्रयास गरेको दाबी गर्दै नर्सहरूलाई राम्रो सुविधा दिएर मुुलुकमै काम गर्ने वातावरण निर्माण गर्न अस्पताल सधैं प्रतिबद्ध रहेको बताएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ