इलाममा मेची राजमार्ग अवरुद्ध भएको १० दिनपछि पनि वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
जटिल भूसंरचनाका कारण मुख्य सडक तत्काल खुलाउन नसकिने, यात्रुलाई सास्ती
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
1.1k
Shares
इलाम। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको दस दिन बितिसक्दा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसकिएकोले यात्रु र यातायात व्यवसायीहरूले ठूलो सास्ती भोग्नुपरेको छ।
गत असोज १८ गतेको बाढीले जोगमाई खोलामा रहेको बेलीब्रिज बगाएपछि मुख्य सडकको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार, माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अहिले अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ।
तर, खोलामा पानीको बहाव उच्च रहनु र डाइभर्सन निर्माणका लागि पर्याप्त ह्युमपाइपको अभाव भएकाले तत्काल सञ्चालन गर्न नसकिएको भट्टराईले बताएका छन्। उनले पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको जानकारी दिएका छन्। डाइभर्सन निर्माणका लागि चारवटा स्काभेटर परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले आइतबार स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरे पनि काममा अपेक्षित प्रगति हुन सकेको छैन। प्रजिअ सुनीता नेपालले प्राविधिक पक्ष सडक डिभिजनले सम्हालिरहेको र चाँडो सडक खुलाउने पहल भइरहेको बताएकी छन्।
हाल आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा रहेका छन्। यद्यपि, ठूला तथा मालवाहक सवारीका लागि भने तीव्र मोड र साँघुरोपनाका कारण उपयुक्त वैकल्पिक मार्ग पहिचान हुन नसकेको प्रजिअले उल्लेख गरेकी छन्।
वर्षासँगै आएको पहिरो झरेपछि विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद भएको छ, जसले झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा गम्भीर समस्या देखिएको छ। सडक डिभिजन प्रमुख भट्टराईले जटिल भूसंरचनाका कारण मुख्य सडक तत्काल खुलाउन नसकिने बताएका छन्।