सुन तस्करी आरोपी कृष्णबहादुर महराको मुद्धामा आज थुनछेक बहस
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
3.7k
Shares
काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको मुद्दामा आजदेखि थुनछेक बहस शुरु हुँदैछ ।
काठमाडौँ जिल्ला अदालतमा गत सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी आजसम्मका लागि हेर्दाहेर्दैमा गएको हो ।
अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार मंगलबार महरासँग बयान लिइएको र आज थुनछेक बहस गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा गएको हो ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई पक्राउ गरेको हो ।
दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर २०७९ पुस १० गते ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्व सभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।
प्रहरीले यसअघि उनलाई दुई पटक पक्राउ परे पनि सत्ता शक्तिको आडमा उनी छुटेका थिए । उनका छोरा राहुल पनि १४ महिना जेल बसेर छुटेका थिए ।