विश्वभरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक: नेपालमा कात्तिक ६ गते यति बजे, विदेशमा कहिले?
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1k
Shares
काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको महान् पर्व तिहार अन्तर्गतको भाइटीकाका लागि विश्वभरिका प्रमुख शहरहरूको शुभ साइत सार्वजनिक गरेको छ। समितिको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा उपयुक्त समय निर्धारण गरेको हो।
समितिका अनुसार, नेपालमा भाइटीका २०८२ कार्तिक ६ गते बिहान ११ः३९ बजे लगाउन उपयुक्त मानिएको छ। यस्तै, भारतको नयाँ दिल्लीमा अक्टोबर २३, २०२५ मा बिहान ११ः५५ बजे, अमेरिकाको न्युयोर्कमा बिहान ११ः५५ बजे र लन्डन (बेलायत) मा बिहान ११ः३७ बजे शुभ साइत तोकिएको छ।
युरोप र अमेरिकाका अन्य शहरहरूमा पनि साइत सार्वजनिक गरिएको छ। फ्रान्सको पेरिसमा बिहान ११ः२१ बजे, जर्मनीको फ्र्याङ्कफर्टमा बिहान ११ः४३ बजे, डेनमार्क र क्यानाडाको टोरन्टो तथा भ्यानकुभरमा बिहान ११ः२५ बजे, नर्वेको ओस्लोमा बिहान ११ः४३ बजे र स्वीट्जरल्याण्डको जेनेभामा बिहान ११ः४५ बजे भाइटीका लगाउन उपयुक्त हुने जनाइएको छ। अमेरिकाका टेक्सासमा बिहान ११ः५७ बजे, क्यालिफोर्नियामा बिहान ११ः४१ बजे र सिकागोमा बिहान ११ः३५ बजे साइत निर्धारण गरिएको छ।
यसैगरी, एसियाका देशहरूमध्ये जापानको टोकियोमा बिहान ११ः४२ बजे, दक्षिण कोरियाको सियोलमा ११ः२१ बजे, सिङ्गापुरमा ११ः५८ बजे, मलेसियाको क्वालालम्पुरमा ११ः५७ बजे, थाइल्याण्डको बैंककमा ११ः४१ बजे, म्यानमारको याङ्गुनमा ११ः५५ बजे, यूएईको अबुधाबीमा ११ः५५ बजे, कतारको दोहामा ११ः५५ बजे र इजरायलको तेल अभिभमा बिहान ११ः४५ बजे भाइटीकाको शुभ साइत तोकिएको छ। अस्ट्रेलियाका सिड्नी, मेलबर्न लगायतका शहरहरूमा भने भाइटीका अक्टोबर २२ मा नै पर्ने भएकाले सोही अनुसार साइत निर्धारण गरिएको छ।
यस वर्ष तिहारको अवसरमा ‘विश्व ज्योतिष महासंघ’ र ‘अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति’ ले सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई तिहार तथा शुभ दीपावली २०८२ को मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। समितिका अनुसार, शुभ साइत 'सबैभन्दा उपयुक्त समय' का रूपमा निर्धारण गरिए पनि सो दिन आफू अनुकूल समयमा पनि टीका लगाउन सकिनेछ।