arrow

तिहारको मौसम

तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव, भाइटीकासम्म यस्तो रहनेछ मौसम

पहाडी क्षेत्रमा फाटफुट वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ। यस वर्ष तिहारको समयमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गर्दै देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने तथा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा र उच्च हिमाली भू-भागमा हल्का हिमपात को समेत सम्भावना रहेको उल्लेख गरेको छ।

लक्ष्मी पूजा (कार्तिक ३) का दिन देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

औँसी (कार्तिक ४) मा पनि देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस दिन कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गोवर्धन पूजा (कार्तिक ५) का दिन देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्की हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

अन्तिम दिन भाइटीका (कार्तिक ६) मा कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा हुनेछ। सबै प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ