arrow

पोर्चुगलमा रहेका तनहुँका जितेन्द्र पाण्डे बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
jitendra-pandey.jpg

लिस्बन (पोर्चुगल)। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा गत सातादेखि बेपत्ता भएका छन्। तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्।

पाण्डेका साथी विदुर तामाङका अनुसार, उनी गत आइतबार राति घरमा तामाङसँग आएका थिए र त्यसपछि साथीको फोन आयो भनेर कोठाबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्। सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममा नगएपछि खोजी गरिएको थियो।

तामाङले पाण्डे सम्पर्कविहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गर्दा त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा नहुने खबर प्राप्त भएको बताए। अहिले उनको कसैसँग पनि सम्पर्क छैन। पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको तामाङले बताए।

बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानी र सबै सामान उनी बस्ने कोठामै भेटिएको छ। उनको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन्।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको र दूतावासले सक्दो पहल गरिरहेको जानकारी दिएका छन्। क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ