arrow

उज्वल थापाको ‘दिमाग घोच्ने मान्छे’ को पहिलो पोष्टर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
dimag-ghochne-manche-ujwal-thapa.jpg

काठमाडौँ । लामो समयको पर्खाइपछि उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । 

आइतबार उक्त वृत्तचित्रको पहिलो पोष्टर सार्वजनिक गरिएको उज्वल थापा फाउन्डेशनले जनाएको छ । 

पहिलो पोष्टर भनी उल्लेख भएसँगै यसका अन्य पोष्टरहरु चरणबद्ध रुपमा आउने देखिएको छ । 

यस वृत्तचित्रमा थापाले राष्ट्र निर्माणका लागि राजनीतिक, सामाजिक, आर्थिक पक्षमा गरेका योगदान, परिकल्पना, अभियान र युवा नेतृत्वको भूमिकालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । 

ड्रिम विजार्ड पिक्चर्स प्रालिले निर्माण गरेको उक्त वृत्तचित्रको निर्माणको लागत उज्वल थापाका शुभेच्छुकबाट संकलन गरिएको हो । 

हालसम्म लागतको ८० प्रतिशत रकम जम्मा भइसकेको भन्दै फाउन्डेशनले यसलाई पूर्ण बनाउन थप सहयोगको अपेक्षा गरेको जनाएको छ । 

यो वृत्तचित्र आगामी पुसमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । 

कोरोना भाइरसको संक्रमणका कारण उनको २०७८ साल जेठ १८ गते निधन भएको थियो । ४४ वर्षको अल्पायुमै उनको निधन भएको हो । २०३३ साल पुस २३ गते जन्मिएका उज्वलले बुढानीलकण्ठ स्कूलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए ।

क्याम्ब्रिज विश्वविद्यालयमा ए–लेभल गरेका उनले पछि खगोल र भौतिक विज्ञान विषयमा स्नातक पनि गरेका थिए । सन् १९९६ मा अध्ययनका लागि अमेरिका गएका उनी सन् २००१ मा नेपाल फर्किएका थिए ।

बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेका उज्वलले हरेक आन्दोलनमा ढुंगामुढा होइन शान्तिपूर्ण तरिकाले, छातीमा प्लेकार्ड टाँसेर र सडक छेउँमा उभिएर गर्नुपर्छ भन्ने सिकाएका थिए । 

अमेरिकामा मल्टिमिडियाबारे पनि अध्ययन गरेका उनले नेपालमा आएर मल्टिमिडिया कम्पनी नै सञ्चालनमा ल्याएर सयौँ युवालाई आफूसँग जोडेका थिए ।

२०६८ सालदेखि नै नेपाल खुला छ अभियान चलाएका उनले नेपाल कहिल्यै बन्द छैन भनेर प्रचार गर्ने गर्थे । पहिलो संविधान सभा असफल भएपछि उनले ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्ने नारा घन्काएका थिए ।

उज्वल थापा वास्तवमा नेताहरूका पनि नेता थिए
वैकल्पिक शक्ति बनाउन भन्दै थापाले विवेकशील नेपाली दल संविधान सभाको दोस्रो निर्वाचन लगत्तै २०७१ सालमा निर्वाचन आयोगमा दर्ता गराएका थिए । 

दोस्रो संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा कुकुर चुनाव चिह्न लिएर काठमाडौं–५ बाट चुनाव लडेका थिए ।

पछि उज्वलको नेतृत्वमा रहको विवेकशील नेपाली दल र रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबीच एकता भएको थियो । उज्वलले आफ्नै नेतृत्वमा लोकतन्त्रलाई जिवित राख्न भन्दै ‘संसदमा ब्याप्त लुटतन्त्रलाई निरन्तरता दिने कि विकल्प रोज्ने ?’ अभियान छेडेका थिए । 

उनको राजनीतिलाई अन्य दलका शीर्ष नेताहरुले ‘आदर्श राजनीति’ भनेर व्याख्या गरेका थिए ।

कसरी बन्दैछ चलचित्र ? 
यो चलचित्रमा उज्वल थापाको बाल्यकालदेखि अन्तिम अवस्थासम्मको उतारचढाव, आरोह अवरोह र राजनीतिक सोचलाई देखाइने छ । फाउन्डेसनकी कार्यकारी संयोजक रक्षा बमका अनुसार एउटा सामान्य मानिस कसरी राजनीतिमा आउन सके र उनले समाजलाई के प्रभाव छाडेर गए भनेर देखाइने छ । 

नयाँ पुस्तालाई उनले कस्तो किसिमको शिक्षा दिए भनेरसमेत पनि चलचित्रमा देखाइनेछ । पहिलेको राजनीतिक सोच र उनले थालेको राजनीतिक सोचले बदलेको युवाको मनलाई सूक्ष्म ढंगले देखाइने छ । 

भावी पुस्तालाई उज्ज्वल थापा को हुन् भनेर देखाउन पनि यस चलचित्रले मद्धत गर्ने बमको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ