arrow

सङ्ग्रहालयबाट दिनदहाडै अमूल्य शाही गहना चोरी

सुरक्षा कमजोरीप्रति मन्त्रीद्वारा असफलता स्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
blue-diamond-2025.jpg

काठमाडौँ। फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट आइतबार बिहान दिनदहाडै आठवटा अमूल्य शाही गहना चोरी भएपछि फ्रान्सेली प्रहरीले चोरहरूको खोजी तीव्र बनाएको छ। करिब ६० जना अनुसन्धानकर्ताको टोली उक्त घटनामा संलग्न आपराधिक गिरोहको सुराकीका लागि खटिएको छ। प्रारम्भिक अनुसन्धानले यो चोरी एक सङ्गठित अपराध समूह द्वारा योजनाबद्ध रूपमा गरिएको सङ्केत गरेको छ।

फ्रान्सका न्यायमन्त्री जेराल्ड डार्मानिनले सोमबार लुभ्र सङ्ग्रहालयको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै भने, “हामी असफल भयौँ भन्ने निश्चित छ। किनभने कसैले पेरिसको बीचमा नै केही मिनेटभित्र अमूल्य गहना लुट्न सके र यसले फ्रान्सको छविलाई गम्भीर असर पुर्‍याएको छ।” गृहमन्त्री लरेन्ट नुनेजले पनि सङ्ग्रहालयहरूमा सुरक्षाको अवस्था 'प्रमुख कमजोरी' बनेको स्वीकार गरेका छन्।

अनुसन्धानका अनुसार, चोरहरूको टोली आइतबार बिहान ९ः३० देखि ९ः४० बजेको बीचमा सङ्ग्रहालयमा प्रवेश गरेको थियो, जुन जनसाधारणका लागि ९ बजे मात्र खुलेको थियो। उनीहरूले शाही सङ्ग्रहहरू प्रदर्शनमा राखिएको ‘अपोलो ग्यालरी’ मा प्रवेश गर्नका लागि मुभरहरूले प्रयोग गर्ने जस्तै विस्तारयोग्य सिँढी भएको ट्रक प्रयोग गरेका थिए। त्यसपछि उनीहरूले झ्याल काटेर भित्र पसी डिस्प्ले केसहरू फोड्न उपकरणहरूको प्रयोग गरेका थिए। सम्पूर्ण चोरी प्रक्रिया करिब सात मिनेटमै सम्पन्न भएको र यसमा सम्भवतः 'विदेशी' अनुभवी टोली संलग्न रहेको अनुमान गरिएको छ।

संस्कृति मन्त्रालयका अनुसार चोरीमा आठवटा 'अमूल्य' गहनाहरू हराएका छन्, जसमा महारानी युजेनीको मुकुट (भाग्ने क्रममा क्षति पुगेको), नेपोलियनले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई दिएको पन्ना र हीराको हार तथा फ्रान्सकी अन्तिम रानी मेरी–एमेलीको हार पनि समावेश छन्। यो घटना सन् १९९८ पछि लुभ्रबाट भएको पहिलो ठूलो चोरी हो।

सङ्ग्रहालयहरूको कमजोर सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ, आलोचकहरूले सङ्ग्रहालयहरूलाई ‘बैंकभन्दा पनि कम सुरक्षित’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। आइतबारको लुटपाटले फ्रान्समा राजनीतिक प्रतिक्रियाहरू पनि जन्माएको छ। दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले यस घटनालाई ‘राष्ट्रका लागि असहनीय अपमान’ बताएका छन् भने राष्ट्रपति इमानुएल म्याक्रोनले अपराधीहरूलाई समात्न र गहना पुनः प्राप्त गर्न 'सबै प्रयास भइरहेको' जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ