मिथिलाञ्चलमा परम्परागत गोधन कुट्ने पर्व, धन र समृद्धिको कामना
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
1.2k
Shares
महेन्द्रनगर (धनुषा)। मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ। भाइटीकाको भोलिपल्ट मनाइने यो पर्वमा बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाहरूको घुइँचो लागेको थियो। मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै यो परम्परा निभाइरहेका थिए।
लक्ष्मीनिया गाउँपालिका–३ का गोविन्द यादवका अनुसार, महिलाहरू बिहानै गाई–भैँसीको गोबर, केराउ र माटो मिसाएर गोधन कुट्छन्। उनले यो पर्वलाई कृषिप्रधान जीवनशैलीप्रतिको कृतज्ञताको प्रतीक भएको बताए। अघिल्लो दिन राति मिथिलाका घरघरमा गाई–भैँसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाइन्छ। परम्पराअनुसार राति गाई–भैँसीले त्यो गोधन कुल्चेपछि बाँकी भागलाई बिहान केराउ मिसाएर कुट्ने चलन छ। यसरी कुटिएको मिश्रणलाई नै ‘गोधन कुट्ने’ भनिन्छ। पण्डित कुश्वेवर उपाध्यायका अनुसार, यसलाई धन, समृद्धि र उर्वरतासँग जोड्ने गरिएको छ।
गोधन कुट्ने पर्वको अर्को विशेषता पारिवारिक स्नेह र रमाइलोपन पनि हो। स्थानीय सोनिया यादवले महिलाले बिहानै गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना (बजरी) खुवाउँछन् भने भाइहरूले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने चलन रहेको बताइन्।
दिदीबहिनीले दाजुभाइलाई रमाइलो पारामा ‘बजरी खइहा भैया बजर होइहा, दहेज न दिहा दरिद्र होइहा’ (केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन) भन्ने लोककथन पनि दोहर्याउँछन्, जसले बलियो बन्न र दानवीर हुन प्रतीकात्मक सन्देश दिन्छ। यो पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो, जसले परिवारमा माया, स्नेह र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ। साँझपख गाउँका विभिन्न स्थानमा गीत, ठट्ठा र नाचगानसहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ।