अनुकूल मौसम र लामो बिदाले पोखराको पर्यटनमा उत्साह, होटल अकुपेन्सी ९० प्रतिशत
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
861
Shares
पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेख्य घुइँचो लागेको छ। दसैँ-तिहारको लामो बिदा, हिमालको सफा दृश्य र अनुकूल मौसमका कारण पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको छ। यसले पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएको छ।
अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवाताल, तथा प्याराग्लाइडिङ, बन्जीजम्प र जिप फ्लायरजस्ता साहसिक खेलहरूले गर्दा पोखरा पर्यटकको आकर्षणको केन्द्र हो। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी का अनुसार, "विभिन्न मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको छ। विशेषगरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आइरहेका छन्।"
अध्यक्ष सुवेदीले लामो बिदा र अनुकूल मौसमले गर्दा लेकसाइडका ९० प्रतिशत होटेलहरूमा अकुपेन्सी रहेको जानकारी दिए। पोखरा हुँदै अन्नपूर्ण पदयात्रा र मुस्ताङको यात्रामा निस्केका पर्यटकहरूको आगमनले गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पारेको छ। पोखराको पर्यटन क्षेत्रमा हाल करिब ८ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ, जसमध्ये ६ खर्ब रुपैयाँ होटल व्यवसायमा रहेको र करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित रहेको सुवेदीले बताए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्य ले पोखरा नेपालका लागि पदयात्राको प्रवेशद्वार भएको र अन्नपूर्ण क्षेत्रका पदमार्गहरूले विश्वभरका ट्रेकरलाई आकर्षित गरेको बताए। हाल कास्कीको छोमरोङ, पोथना, विरेठाँटी, लमजुङको बेँसीसहर र म्याग्दीको घासाका पाँच चेकपोष्टबाट दैनिक १ हजारदेखि १ हजार २०० विदेशी पर्यटक र ४ हजारदेखि ४ हजार ४५ सम्म नेपालीहरू पदयात्रामा जाने गरेको तथ्याङ्क छ। आचार्यले पर्यटनलाई दिगो बनाउन पदमार्गको संरक्षण, स्तरोन्नति र नयाँ रुटहरूको पहिचानमा सरकारले चासो बढाउनुपर्नेमा जोड दिए।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेल ले पनि दसैँभन्दा तिहारमा पर्यटकको आगमन राम्रो रहेको र रेस्टुरेन्ट तथा बारमा उत्साहजनक चहलपहल बढेकोमा खुसी व्यक्त गरे।
यद्यपि, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले यो मौसममा मात्र पर्यटकको आगमनले पर्यटन क्षेत्रको लगानी थेग्न नसक्ने भन्दै सबै मौसममा पर्यटन भित्र्याउने दीर्घकालीन योजना सरकारसँग हुनुपर्ने खाँचो औँल्याएका छन्। नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ।