उत्तरी गोरखामा भारी हिमपात, लार्केपासका पर्यटक सामागाउँमै रोकिए
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
977
Shares
गोरखा। उत्तरी गोरखाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भएको छ। चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँहरूमा हिमपात भइरहेकाले जनजीवन प्रभावित बनेको छ।
चुमनुब्री गाउँपालिका–७ का स्थानीय पासाङफुञ्जो लामाले रातिदेखि हिउँ पर्न सुरु गरेको र अहिले पनि परिरहेको जानकारी दिए। उनले भने, “अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन्।”
हिमपातका कारण तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायतका गाउँहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन्। त्यसैगरी, वडा नं १ को सामागाउँ, साम्दो र वडा नं २ को स्याला, ल्होलगायतका गाउँहरू पनि हिउँले ढाकिएका छन्।
हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू पनि प्रभावित भएका छन्। पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटकहरू सामागाउँ र साम्दोमै रोकिएका स्थानीयले बताएका छन्।