काठमाडौँ । वकिललाई धम्की दिने खगेन्द्र सुनारलाई काभ्रे जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार थुनछेक बहसपछि मुद्दाको अन्तिम फैसला हुँदा ठहरे बमोजिम हुने गरी न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश गरेको हो ।
सुनारले आफूविरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने वकिल मनीषा गौतमलाई फेसबुकमार्फत धम्की दिएका थिए । रुकुमको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको आदेशविरुद्ध सुनारले विरोध प्रदर्शन गरेका थिए ।
उनले न्यायाधीशहरूको फोटो नै राखेर गरेको प्रदर्शन र दिएका अभिव्यक्तिविरुद्ध अधिवक्ता गौतमले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
उनको फोटो र एकाउन्टसमेत मेन्सन गरेर लेखेको स्टाटसपछि धम्की आउने क्रम शुरू भएको भन्दै अधिवक्ता गौतमले जाहेरी दिएकी थिइन् ।
उनको जाहेरीका आधारमा प्रहरीले पक्राउ पुर्जीसमेत लिए पनि पक्राउ परेका थिएनन् ।
हालको अन्तरिम सरकारमा जेन–जीको छनोटमा परेर सरकारमा मन्त्री बन्न लागेपछि पक्राउ पुर्जी सार्वजनिक भएको थियो । त्यसपछि सरकारले मन्त्री बन्ने नाम फिर्ता लिएको थियो ।