वर्षा र पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
984
Shares
काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरो र लेदोले अवरुद्ध बनेको बीपी राजमार्ग सफा गर्ने काम आज बिहानैदेखि शुरु भएको छ।
शनिबार बेलुकादेखि वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिएका छन्। मौसम खुलेकाले आज बिहानदेखि सडक सफा गर्ने कामले तीव्रता पाएको छ।
हाल बीपी राजमार्गको चारसय बेँसी को पहिरो पन्छाउने काम भइरहेको छ भने पिप्लेमाथि पनि सडक सफा गर्ने काम शुरु भएको छ। सडक डिभिजन कार्यालयले मौसमले साथ दिए आज दिउँसोसम्म सडक सफा भई यातायात सञ्चालन हुने अपेक्षा गरेको छ।
राजमार्ग अवरुद्ध हुनुमा मुख्यतया काभ्रेको रोशी गाउँपालिकास्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिरो रहेको छ। त्यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको छ। बीपी राजमार्ग छेउमा सञ्चालन गरिएका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गमा क्षति पुर्याउँदै आएको छ।
सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका छन् भने केही सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ गएका छन्।