१२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व, ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
714
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन आज (सोमबार) त्यसतर्फ प्रस्थान गरेका छन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गरेका हुन्। उनको प्रतिनिधिमण्डलमा धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिवसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाइ गरेका थिए। सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख र नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ। सम्मेलनका क्रममा उनले कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्।
संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार यो दोस्रो सम्मेलन ३० वर्षपछि हुन लागेको हो। यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। यसपटक कतारले आयोजना गरेको सम्मेलनमा विश्वले सामना गरेका विकास असमानता, जनसङ्ख्यामा असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभाव लगायतका विषयमा गहन छलफल हुने र सामाजिक विकासका लागि साझा प्रतिबद्धता जाहेर गरिने बताइएको छ।
राष्ट्रपति पौडेल भ्रमण पूरा गरी यही कात्तिक २० गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।