सुडानको एल–फासरमा युद्ध र मानवता विरुद्धको अपराध भएको हुनसक्ने सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
2k
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को अभियोजनकर्ताको कार्यालयले सुडानको एल–फासर सहरमा भएको अत्याचार युद्ध अपराध र मानवता विरुद्धको अपराध हुन सक्ने सङ्केत पाएको जनाएको छ। ओटिपीले एल–फासरमा सामूहिक हत्या, बलात्कार र अन्य अपराधका रिपोर्टहरूप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ।
सुडानी अर्धसैनिक र्यापिड सपोर्ट फोर्सले १८ महिनाको घेराबन्दी र बमबारीपछि गत अक्टोबर २६ मा एल–फासरमाथि नियन्त्रण जमाएको थियो। एल–फासर पश्चिमी डार्फर क्षेत्रमा सेनाको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र मानिन्थ्यो। लामो समयको युद्धका कारण स्थानीयहरूले आफ्नो दैनिक काम गर्न नसक्दा उक्त क्षेत्रमा चरम भोकमरीको अवस्था आएको बताइएको छ।
ओटिपीले जारी गरेको विज्ञप्तिमा यी अत्याचारहरू अप्रिल २०२३ देखि सम्पूर्ण डार्फर क्षेत्रलाई प्रभावित गरेको हिंसाको व्यापक ढाँचाको हिस्सा भएको उल्लेख छ। आइसिसीको पत्रमा भनिएको छ, “यदि यस्ता कार्यको पुष्टि भयो भने रोम विधान अन्तर्गत युद्ध अपराध र मानवताविरुद्धको अपराध दर्ता हुन सक्छ।”
संयुक्त राष्ट्रसङ्घका अनुसार, युद्ध चर्किएपछि पछिल्ला केही दिनमा ६५ हजार भन्दा बढी मानिसहरू एल–फासरबाट विस्थापित बनेका छन्। विस्थापितमध्ये लगभग पाँच हजार नजिकैको ताविलामा छन् भने दशौं हजार अझै पनि युद्धग्रस्त क्षेत्रमा फसेका छन्। अन्तिम आक्रमण हुनुभन्दा पहिले लगभग दुई लाख ६० हजार मानिसहरू एल–फासरमा बस्थे।
एल–फासर सहरमा आरएसएफको कब्जापछि अपहरण, सहायताकर्मीमाथि आक्रमण, विरोधीलाई मृत्युदण्ड, यौन हिंसा र लुटपाटका रिपोर्टहरू बाहिर आएका छन्। उक्त क्षेत्रमा धेरै हदसम्म सञ्चार विच्छेद भएको छ। आरएसएफको उत्पत्ति दुई दशकअघि डार्फरमा नरसंहारको आरोप लागेको अरब मिलिसियाको जनजाविद समूहबाट भएको थियो। एल–फासरको पतनपछिका रिपोर्टहरूले यस्तै अत्याचारमा फर्कने डर बढाएको छ।