arrow

हिमपातमा फसेका दुई पर्यटकको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
air-des-humla.jpg

मुस्ताङ। मुस्ताङ र डोल्पाको सिमानामा रहेको छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा नेपाली सेनाको इन्द्रबक्स गण को सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत उनीहरूको सकुशल उद्धार गरिएको हो।

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेको जानकारी पाएपछि सेनासँगको समन्वयमा उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।

कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका जिसी र कुँवर, साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको छार्का पुगेका थिए। प्रतिकूल मौसम र भारी हिमपातका कारण उनीहरू छ दिनसम्म छार्कामै रोकिएका थिए। हिमपात रोकिएपछि कात्तिक १६ गते उनीहरू स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै मुस्ताङ प्रस्थान गरेका थिए। तर, रोकाया छार्का ब्यारेलबाट छुट्टिएपछि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा थप चार दिनसम्म अलपत्र परेका थिए।

स्थानीय नागरिक रोकायाले स्याटेलाइट फोनमार्फत दुई पर्यटक अलपत्र परेको जानकारी स्थानीय प्रशासनलाई गराएका थिए। प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए। पर्यटक जिसीले आफूहरू भारी हिमपातका कारण चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको र रोकायाको जानकारीपछि स्थानीय प्रशासन र सेनाले उद्धार गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ