arrow

सुडान द्वन्द्व: अर्धसैनिक बल मानवीय युद्धविराम प्रस्तावमा सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
sudan-map.jpg

काठमाडौँ। सुडानको अर्धसैनिक बल (आरएसएफ) ले बिहीबार मध्यस्थकर्ताहरूले प्रस्तुत गरेको मानवीय युद्धविरामको प्रस्तावमा सहमत भएको घोषणा गरेको छ। यो समूह पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि सरकारी सेनासँग नियमित युद्धमा संलग्न छ र यसको पकड खास गरी सुडानको डार्फर क्षेत्रमा कायम छ।

आरएसएफले संयुक्त राज्य अमेरिका, इजिप्ट, युएई र साउदी अरेबियालाई उल्लेख गर्दै एक विज्ञप्ति जारी गरी ‘क्वाड’ देशहरूले प्रस्ताव गरेको मानवीय युद्धविराममा प्रवेश गर्ने आफ्नो सहमतिलाई पुष्टि गरेको छ। यो सहमति सुडानी जनताको आकाङ्क्षा र हितको प्रतिक्रियामा आएको आरएसएफले जनाएको छ।

यता, सुडानको सेना–गठित सरकारले भने यस हप्ताको सुरुमा अमेरिकी युद्धविराम प्रस्तावमा आन्तरिक छलफलपछि पनि युद्धलाई अगाडि बढाउने सङ्केत गरेको थियो।

यसैबीच, अन्तर्राष्ट्रिय फौजदारी अदालतको अभियोजनकर्ताको कार्यालय (ओटिपी) ले हालै सुडानको एल–फासर सहरमा भएको अत्याचार युद्ध अपराध र मानवता विरुद्धको अपराध हुन सक्ने सङ्केत पाइएको जनाएको छ। आइसिसीका अभियोजकको कार्यालयले सामूहिक हत्या, बलात्कार र अन्य अपराधका बारेमा एल–फासरको रिपोर्टलाई लिएर 'गहिरो चिन्ता' व्यक्त गरेको छ। आरएसएफले अक्टोबर २६ मा १८ महिनाको घेराबन्दी र बमबारीपछि एल–फासरमा नियन्त्रण जमाएको थियो।

एल–फासर पश्चिमी डार्फर क्षेत्रमा सेनाको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र मानिन्थ्यो। लामो समयसम्म चलेको युद्धका कारण स्थानीयहरूले आफ्नो दैनिक काम गर्न नसक्दा यहाँ चरम भोकमरीको अवस्था आएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, पछिल्ला केही दिनमा युद्ध चर्किएपछि ६५ हजार भन्दा बढी मानिसहरू एल–फासरबाट विस्थापित बनेका छन्। विस्थापितमध्ये लगभग पाँच हजार नजिकैको ताविलामा छन् भने दशौं हजार अझै पनि युद्धग्रस्त क्षेत्रमा फसेका छन् र उनीहरू स्थानीय शिविरहरूमा बसिरहेका छन्। अन्तिम आक्रमण हुनुभन्दा पहिले लगभग दुई लाख ६० हजार मानिसहरू एल–फासरमा बसोबास गर्थे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ