arrow

वायु प्रदूषण

नयाँ दिल्लीमा विषाक्त हावाको प्रकोप, मास्क लगाएर नागरिकले गरे प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
delhi-polution-025.jpg

काठमाडौँ । नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रण गर्न सरकारको पहल पर्याप्त नभएको भन्दै आइतबार दर्जनौँ प्रदर्शनकारीहरूले मास्क लगाएर प्रदर्शन गरेका छन्। पछिल्ला केही दिनदेखि खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले भारतको सङ्घीय राजधानीलाई ढाकिरहेको छ, जसले वातावरणलाई निकै प्रदूषित बनाएको छ।

प्रदर्शनमा सहभागी अभिभावकहरूले आफ्ना बच्चाहरूलाई पनि सहभागी गराएका थिए। 'प्लाकार्ड' बोकेका बालबालिकाहरूले वातावरण प्रदूषण नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै नारा लगाए। उनीहरूको 'प्लाकार्ड'मा "म सास फेर्नै नसक्ने अवस्थामा पुगेको छु" भन्ने भाव व्यक्त गरिएको थियो।

तीन करोड बासिन्दाहरूको यो विशाल महानगरीय क्षेत्र नयाँ दिल्ली निरन्तर विश्वको सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बनिरहेको छ। प्रत्येक जाडोमा चिसो हावाले प्रदूषकहरूलाई जमिनको सतहको नजिक ल्याउँदा बाक्लो धुवाँले क्षितिज ढाक्ने गर्छ। राजधानी वरपरका किसानहरूले हिउँदे खेती लगाउनुपूर्व 'छापो' पोल्ने र दिल्लीमा रहेका कारखाना तथा भारी ट्राफिक बाट उत्सर्जन हुने प्रदूषणको घातक मिश्रणले यो समस्या थप विकराल बन्छ।

क्यान्सर निम्त्याउने सूक्ष्म कणहरूको स्तर कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमाभन्दा ६० गुणासम्म बढ्ने गरेको छ। आइतवार प्रदर्शनकारीहरू भेला भएको प्रतिष्ठित इन्डिया गेट वरपर पीएम २.५ को स्तर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतमभन्दा १३ गुणा बढी थियो।

छोरासँगै प्रदर्शनमा आएकी नम्रता यादवले आफू 'जलवायु शरणार्थी' बन्न नचाहेको बताइन्। वकिल तन्वी कुसुमले भने, "वर्षैपिच्छे एउटै कथा छ, तर कुनै समाधान छैन," भन्दै सरकारले कम्तिमा यस मुद्दालाई गम्भीरतापूर्वक लिन दबाब सिर्जना गर्नुपर्ने बताए।

प्रदूषण नियन्त्रणका लागि भएका टुक्रे सरकारी पहलहरूले उल्लेखनीय प्रभाव पार्न असफल भएका छन्। सरकारले केही दिन पहिले जीवाश्म ईन्धनबाट चल्ने यातायात र हावाबाट सिर्जना भएका कण हटाउन कुहिरो छर्कने र पानी बोक्ने ट्रकहरूमा आंशिक प्रतिबन्धहरू लगाउने निर्णय गरेको थियो।

यसैबीच, गत वर्ष द ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ को बीचमा भारतमा ३८ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण सिर्जित रोगका कारण भएको थियो। संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (युनिसेफ) ले प्रदूषित हावाले बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी गम्भीर सङ्क्रमणको उच्च जोखिममा राख्ने चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ