बिहारमा भाजपाको ऐतिहासिक जित, बन्यो पहिलो पार्टी, कसलाई कति सिट ?
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
2.2k
Shares
काठमाडौँ । भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले ऐतिहासिक जित हासिल गरेको छ ।
भाजपा पहिलो पटक पहिलो पार्टी बन्न सफल भएको छ । भाजपा सम्मिलित एनडीए गठबन्धनले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको छ ।
२४३ सिटमध्ये एनडीएले २०२ सिट जितेको छ । यसअघिको चुनावमा गठबन्धनले १२५ सिट जितेकामा यसपालि निकै सुधार गरेको हो ।
७७ सिट बढी जितेको एनडीएले ५५.६ प्रतिशत मत पाएको छ । एनडीएभित्र भाजपालेमात्रै ८९ सिट जितेको छ । यसअघिको चुनावमा ७४ सिट जितेको भाजपाले यसपालि थप १५ सिट जितेको हो ।
भाजपाले २० प्रतिशत सिट जितेको छ । दोस्रो स्थानमा गठबन्धनकै जेडीयू आएको छ । जेडीयूले ८५ सिट जितेको छ । जेडीयूले पनि कायापलट गरेको छ ।
यसअघि ४३ सिट जितेको जेडीयूलाई यसपालि ४२ सिट फाइदा भएको छ ।
यसअघि एक सिट जितेर गठबन्धनमा चित्त बुझाएको लोजपाले यसपालि १९ सिट जितेको छ । एनडीए–अन्यको भागमा ८ सिट गएको छ ।
भारतीय राष्ट्रिय कांग्रेस सम्मिलित महागठबन्धन भने ३५ सिटमै खुम्चिएको छ । यो महागठबन्धनको अहिलेसम्मकै खराब स्थिति हो । यसअघि ११० सिट जितेको महागठबन्धनलाई यसपालि ७५ सिट नोक्सान भएको छ ।
कूल मतमध्ये ३५ प्रतिशत मत पाएको महागठबन्धनमा राजदले २५ सिट जितेको छ । यसअघिको चुनावमा राजदले ७५ सिट जितेको थियो ।
त्यस्तै यसअघि १९ सिट जितेको कांग्रेस यसपालि ६ सिटमा समेटिएको छ । यसअघि १२ सिट जितेको सीपीआईले यसपालि मात्र २ सिट जित्यो ।
त्यस्तै अन्यले ६ सिट जित्दा जनसुराजले मात्र ०.३ प्रतिशत मत पाएको छ ।
नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएदेखि भाजपा भारतभर बलियो हुँदै गएको छ । यसपालि बिहारले त्यसलाई झन् प्रमाणित गरिदिएको छ ।
उनले सबै मतदातालाई धन्यवाद दिँदै बिहारबाट गुञ्जन शुरू भएको शंख ध्वनि अब भारतभर फैलिने बताए ।
उनले बिहारमा ठूला ठूला उद्योग खोलेर बिहारका युवालाई बिहारमै रोजगार दिने प्रणसमेत गरेका छन् ।
उनले बिहारको यो जितलाई सुशासनको जितसमेत भनेका छन् । बिहार हिन्दी भाषी उत्तरको एक मात्र राज्य हो, जहाँ भाजपाले कहिल्यै एक्लै शासन गरेको छैन ।
यसपटक पनि एक्लै बहुमत प्राप्त नगरे पनि पहिलो दल बनेर देखाइदिएको छ ।
यसले आगामी वर्ष हुन लागेको अन्य क्षेत्रीय चुनावअघि मोदी र उनको पार्टीलाई बलियो बनाएको छ ।
मोदीले बिहारको जंगलराज ध्वस्त पारिदिएकोसमेत बताएका छन् ।
मोदीले जंगलराज गर्नेहरुको पुरानो साम्प्रदायिक एमवाई सूत्रलाई बिहारको यो जितले पूर्णरुपले ध्वस्त पारेको भन्दै अब नयाँ सकारात्मक सूत्र दिएको बताए । उनले एमवाईको मतलब महिला र युवा भएको बताए ।
उनले आज कांग्रेस मुस्लिम लिगी–माओवादी कांग्रेस अर्थात् एमसीसी बनेकोसमेत आरोप लगाए । मोदीले जसरी पार्टीको नाम नकारात्मक राजनीतिमा जोडिएको छ त्यसरी नै अब कांग्रेसमा एक ठूलो विभाजन हुने सम्भावना बनेकोसमेत बताए ।