भक्तपुर। बिहानको सूर्योदयसँगै पहेँलिँदै र रातो हुँदै उदाउँदो सूर्यको किरणले राताम्मे बनेर टल्किएका विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० भन्दा बढी हिमशृङ्खलाको मनमोहक दृश्यावलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ।
पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य १४ किलोमिटर सडक ११ वर्षसम्म अलपत्र परेपछि चाँगुनारायण नगरपालिकाले करिब रु १७ करोडको लागतमा कालोपत्र गरेसँगै नगरकोट जान सहज भएको र पर्यटकहरूको आगमन बढेको पर्यटन व्यवसायीहरू बताउँछन्।
नगरकोट बसपार्कसँगै रहेको होटल मेरिगोल्डका सञ्चालक एवं पर्यटन व्यवसायी गोकुल लामिछानेले ११ वर्षदेखि सडककै कारण सुस्ताएको पर्यटन व्यवसाय अहिले सडक कालोपत्र गरेपछि फस्टाएको बताए। उनले चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष सुरु गरेसँगै नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा सडक कालोपत्र गराएपछि पर्यटकको आगमन बढेको र व्यवसायीमा उत्साह थपिएको भनाइ राखे।
होटल चौतारीका सञ्चालक एवं पर्यटन व्यवसायी बद्री माकले पर्यटकको आगमनले व्यवसायमा लगानी थप गर्न आँट आएको बताए। विसं २०७२ को भूकम्पले भत्किएको होटललाई नयाँ स्वरूपमा निर्माण गरेर लगानी बढाएको बताउँदै उनले बिदा र शुक्रबारको दिन अग्रिम बुकिङ नगरे ठाउँ पाउन मुस्किल पर्ने उल्लेख गरे।
नगरप्रमुख जीवन खत्रीले भूकम्प, कोरोना र अलपत्र सडकका कारण थिलथिलो बनेको पर्यटन व्यवसाय अहिले चलायमान बन्दै गएको बताए। सरकारले नगरकोट सडकको ठेक्का रद्द गरेलगत्तै नगरपालिकाले तीव्र गतिमा सडक कालोपत्र सम्पन्न गराएपछि पर्यटकको आगमन बढेको उनको भनाइ छ। उनले नगरकोटसँगै विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारयण मन्दिरसहितका सम्पदालाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सुरुआत गरिएको जानकारी दिए।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले नगरकोट हिमाली दृश्य, सूर्योदय र सूर्यास्तमात्रै नभई यहाँका हरियालीले भरिएको घना वनजङ्गल र स्थानीय संस्कृतिले पनि पर्यटकलाई आकर्षण गर्ने बताए। उनले ट्रेकिङ मार्ग, साइकलिङ ट्रेल र घरबास जस्ता गतिविधिहरूका कारण नगरकोट बहुपक्षीय पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको उल्लेख गरे।
व्यवसायी रामशङ्कर ध्वजुका अनुसार नगरकोट (२,१७३ मिटर उचाइमा) बाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ, धौलागिरि, कञ्चनजङ्घा, मनास्लु, गणेश, गौरीशङ्कर लगायतका उत्कृष्ट हिमशृङ्खलाहरू देख्न सकिन्छ।