दुई खर्ब ७५ अर्ब कर बक्यौता असुली हुन बाँकी, लक्ष्यको प्रगति न्यून
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
826
Shares
काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट कुल रु दुई खर्ब ७५ अर्ब कर बक्यौता असुली हुन बाँकी देखिएको छ। सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार, असुली हुन बाँकी रहेको कुल रकममध्ये रु ९४ अर्ब ९५ करोड सामान्य बक्यौता र प्रशासकीय पुनरावलोकनमा रहेको रु एक खर्ब ८० अर्ब १० करोड रहेको छ।
असुली हुन बाँकी रहेको कुल कर बक्यौतामध्ये आयकरतर्फ सबैभन्दा बढी एक लाख ९३ हजार ६२० करदाताबाट रु दुई खर्ब १९ अर्ब ११ करोड उठ्न बाँकी रहेको देखिन्छ। यसैगरी, मूल्य अभिवृद्धि करतर्फ रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ रु चार अर्ब नौ करोड र अन्यतर्फ रु तीन अर्ब १५ करोड बराबर कर असुली हुन बाँकी छ।
गत आर्थिक वर्षमा विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ। प्रतिवेदनअनुसार, आयकरतर्फ रु २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा जम्मा रु आठ अर्ब ७१ करोड मात्र असुल भई लक्ष्यको तुलनामा ३८.२९ प्रतिशत प्रगति हासिल भएको छ। यद्यपि, मूल्य अभिवृद्धि करतर्फ भने रु १६ अर्ब ३३ करोड लक्ष्य रहेकामा ६३.२८ प्रतिशत अर्थात् रू १० अर्ब ३३ करोड असुल भएको जनाइएको छ।