arrow

लगानी बोर्डको बैठक

मेगा परियोजनाहरूलाई गति: कर्णालीमा ९३ अर्बको लगानी स्वीकृत

अरुण र पश्चिम सेतीमा पनि बोर्डको महत्त्वपूर्ण निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
lagani-board-meeting.jpg

काठमाडौँ। लगानी बोर्डको बैठकले हालै महत्त्वपूर्ण ऊर्जा तथा पूर्वाधार परियोजनाहरूको विकासका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) मा अनुमानित लागत ने.रु. ९३ अर्ब ४० करोड ७६ लाख (ने.रु. ९३,४०७,६३६,०००/-) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौता (पीडीए) को लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।

यसैगरी, तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ। साथै, अरुण –३ जलविद्युत परियोजना (९०० मेगावाट) को मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय भएको छ भने पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरिएको छ।

परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङद्वारा पेश गरिएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत १६ अर्ब रुपैयाँ) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न पनि सीईओ लाई अख्तियारी दिने निर्णय भएको छ।

नीतिगत तथा प्रशासनिकतर्फ, बोर्डले गत आर्थिक वर्ष २०८१/०८२ को कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना स्वीकृत गरेको छ। यसका साथै, लगानी बोर्डको कार्यालयको लागि चालु आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने र सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ