काठमाडौँ। आतङ्कवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको श्रृङ्खला बढेपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ।
नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीहरूले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकहरूलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसन (क्यान) ले जनाएको छ।
नाइजर राज्यका क्यानका प्रवक्ता डेनियल एटोरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अगवारा स्थानीय सरकारी क्षेत्रको निजी संस्था सेन्ट मेरी स्कूलमा आक्रमण गरी सन्दिग्ध आतङ्ककारीहरूले विद्यार्थी र शिक्षकहरूलाई बन्धक बनाएको बताएका छन्।
एटोरीले अपहरण गरिएका बच्चाहरूका अभिभावकहरूलाई भेटेपछि बच्चाहरूलाई उद्धार गरी सुरक्षित रूपमा फिर्ता ल्याउनका लागि सरकार र सुरक्षा निकायहरूसँग मिलेर काम गरिरहेको पनि बताएका छन्।
नाइजर राज्य सरकारका सचिव अबुबकर उस्मानले घटनाको पुष्टि गरेका छन् भने गुप्तचर रिपोर्टहरूले राज्यका केही भागहरूमा सुरक्षा खतरा बढेको सङ्केत गरेका छन्। सतर्कताको आधारमा सरकारले सबै निर्माण गतिविधि स्थगित गर्न र प्रभावित क्षेत्रका स्कुलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको उनले बताएका छन्।
स्थानीय सुरक्षा निकायहरूले विद्यार्थीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न पूर्ण अनुसन्धान तथा खोजी र उद्धार अभियान सुरु गरेको जनाइएको छ। नाइजर राज्यका प्रहरी प्रवक्ता वासिउ अबियोडुनलाई उदृत गर्दै अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्नका लागि नजिकैको जङ्गलकामा सैन्य शक्ति र अन्य सुरक्षा एजेन्सीहरूसहित अर्धसैनिक निकायलाई घटनास्थलमा तैनाथ गरिएको सिन्ह्वाले जनाएको छ।
शिक्षा मन्त्रालयको विज्ञप्ति मार्फत संघीय सरकारको स्वामित्वमा रहेका विद्यालयहरू लक्षित यो निर्देशन यसअघि नै लागु भइसकेको जनाएको छ। विज्ञप्तिमा “देशका केही भागहरूमा सुरक्षा चुनौतिहरूको कारण सुरक्षा उल्लङ्घन रोक्न आवश्यक रहेको” उल्लेख गरिएको छ।
यसअघि हप्ताको सुरुमा भएको आक्रमणमा उत्तरी राज्य केब्बीको सरकारी माध्यमिक विद्यालयका कम्तीमा २५ जना विद्याथी छात्राहरू पनि सन्दिग्ध आतङ्ककारीहरूले अपहरण गरेको जनाइएको छ।