arrow

सामाजिक सुरक्षा कोषमा करिब एक खर्ब रकम सङ्कलन

लगानीका स्रोत खोज्नुपर्ने आवश्यकता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
samajik-surakchaya-kosh.jpg

काठमाडौँ । सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा हालसम्म झन्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ। कोषका अनुसार, हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ बराबर पुगेको छ।

कोषमा हालसम्म २२ हजार ३०९ रोजगारदाता र २६ लाख ४१ हजार १८९ योगदानकर्ता सूचीकृत भएका छन्। कोषले हालसम्म कूल रु १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ। यसमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबीमा रु २ अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२ र दुर्घटना तथा अशक्तता दाबीमा रु २२ करोड ८६ लाख ५३ हजार ४७५ भुक्तानी भएको छ। त्यस्तै, आश्रित परिवार सुरक्षा दाबी रकम रु २९ करोड सात लाख ७२ हजार ११६ र अवकाश दाबी रकम रु १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ बराबर छ।

सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने वाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ। स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थामा कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भई योगदानकर्ता बन्न सक्छन्। कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन्।

कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको र कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशील योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ