काठमाडौँ। नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट बन्दुकधारीले अपहरण गरी लगेका तीन सय भन्दा बढी बालबालिकामध्ये ५० जना अपहरणकारीबाट भागेको एक इसाई समूहले आइतबार जनाएको छ।
नाइजर राज्यको ‘सेन्ट मेरिज को–एजुकेशन स्कुल’ मा बन्दुकधारीले शुक्रबार छापा मारेर ३०३ बालबालिका र १२ शिक्षकलाई अपहरण गरी लगेका थिए। यो नाइजरमा भएको सबैभन्दा ठूलो सामूहिक अपहरणको घटना हो। छिमेकी केब्बी राज्यको एक माध्यमिक विद्यालयमा २५ जना बालिका अपहरण भएको केही दिनपछि यो घटना भएको हो।
क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया (क्यान) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले केही राम्रो समाचार पाएका छौँ, पचास जना विद्यार्थीहरू भागेका छन् र उनीहरू आफ्ना अभिभावकसँग पुनर्मिलन भएका छन्।”
सेन्ट मेरिजबाट अपहरण गरिएका बालबालिकाहरू आठदेखि १८ वर्ष उमेरका केटा र केटीहरू छन्, जसको सङ्ख्या स्कूलको कुल विद्यार्थी सङ्ख्या ६२९ को लगभग आधा हो।
नाइजर राज्यका क्यान का अध्यक्ष रेवरेन्ड बुलस दाउवा योहन्नाले बाँकी पीडितको उद्धार र सुरक्षित फिर्तीका लागि प्रार्थना जारी राख्न आग्रह गरेका छन्। नाइजेरियाली सरकारले भने अपहरणमा परेका विद्यार्थी र शिक्षकको सङ्ख्याबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको यस देशमा बढ्दो सुरक्षा डरका कारण देशभरि विद्यालय बन्द हुने क्रम बढेको छ।