भानुभक्त ढकाल र महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
939
Shares
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। पार्टीले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको खुला प्रहार भएको जनाएको छ।
आइतबार काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा हुने युवा जागरण कार्यक्रममा जाँदै गर्दा विराटनगरमा युवाहरूले उनीहरूमाथि दुर्व्यवहार गर्दै रातो मसी छ्याप्ने र बाटो अवरुद्ध गर्ने प्रयास गर्दै नाराबाजी समेत गरेका थिए।
कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाराको सिमरामा एमाले महासचिव शङ्कर पोखरेल सहभागी कार्यक्रमपछि पनि यस्तै प्रकृतिका घटनाहरू दोहोरिन थालेको उल्लेख छ। विज्ञप्तिमा सरकारले यस्ता अराजक क्रियाकलापलाई रोक्न आवश्यक ध्यान नदिएको आरोप लगाइएको छ, र 'राज्य संयन्त्रले आवश्यक नियन्त्रण तथा निरुत्साहन गर्न नसक्दा राजनीतिक हिंसा उक्साउने प्रवृत्ति बढ्दै गएको' बताइएको छ।
एमाले कोशी कमिटीले खुला आवागमन, शान्तिपूर्ण भेला र नागरिक सुरक्षामा बाधा पुर्याउने क्रियाकलापलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै सम्बन्धित व्यक्तिहरूलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।