काठमाडौँ। इण्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तका सात क्षेत्र र शहरहरूमा बाढी र पहिरोका कारण १३ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ।
उत्तरी सुमात्राका आपतकालीन व्यवस्थापन, उपकरण र रसद प्रमुख वाह्युनी पन्कासिलावातीले दिएको जानकारीअनुसार, मृत्यु हुनेहरूमध्ये दक्षिण तपानुली रिजेन्सीमा नौ जना र मध्य तपानुली रिजेन्सीमा चार जना रहेका छन्।
नोभेम्बर २२ देखि २५ सम्म निरन्तर भारी वर्षाका कारण नदीहरू ओभरफ्लो हुँदा मध्य तपानुली, सिबोल्गा, मन्डेलिङ नताल, दक्षिण तपानुली, उत्तरी तपानुली, दक्षिण नियास र पडाङसिदिम्पुआनमा बाढी र पहिरो गएको थियो।
अधिकारीहरूका अनुसार, दक्षिण तपानुलीमा ३७ जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्। मध्य तपानुलीमा तथ्याङ्क सङ्कलन जारी रहेको छ। यो प्रकोपले सयौं घर, विद्यालय र सार्वजनिक सुविधाहरूलाई पनि क्षति पु¥याएको र हजारौं बासिन्दाहरूलाई प्रभावित क्षेत्रहरूमा स्थानान्तरण गर्न बाध्य पारेको जनाइएको छ।