ट्रोजन ड्र्यागनः ग्रीन ट्रान्जिसनले युरोपको मास्टर स्विच बेइजिङलाई सुम्पिएकोब्रसेल्स। युरोपेली सङ्घको हरित ऊर्जा रूपान्तरण अभियान भूराजनीतिक वास्तविकतासँग ठोक्किएको छ। ब्रसेल्सका नीति निर्माताहरूले सोलार पूर्वाधारको तीव्र विस्तारलाई प्रगतिशील पर्यावरण नीतिको सफलताका रूपमा प्रस्तुत गर्दै आएका थिए। तर अहिले उनीहरूले यो ‘उपलब्धि’ ऐतिहासिक रणनीतिक गल्ती रहेको महसुस गर्न थालेका छन्।
युरोपेली खुफिया र ऊर्जा क्षेत्रमा अहिले शान्त तर गहिरो चिन्ता फैलिरहेको छ। रुसी जीवाश्म इन्धनबाट टाढा हुने हतारमा युरोपले आफ्नो महत्त्वपूर्ण पूर्वाधारभित्र अझ जटिल डिजिटल खतरा रोप्दै गएको बुझाइ बढ्दो छ।
यो जोखिमको मूल सोलार प्यानलमा होइन, इन्भर्टरमा छ। इन्भर्टर सोलार ऊर्जालाई प्रयोगयोग्य विद्युत्मा रूपान्तरण गर्ने इलेकट्रोनिक मस्तिष्क हो। आधुनिक इन्भर्टरहरूलाई निरन्तर सफ्टवेयर अपडेट, मर्मत र डाटा अनुगमन आवश्यक पर्ने भएकाले ती स्थायी रूपमा इन्टरनेटसँग जोडिएका हुन्छन्। यो नै समस्याको जड हो।
हाल युरोपमा नयाँ जडान हुने सोलार प्रणालीमध्ये करिब ८० प्रतिशत चिनियाँ इन्भर्टरमा निर्भर छन्। हुवावे र सन्ग्रो जस्ता राज्यसँग जोडिएका कम्पनीहरूले बजार लगभग पूर्ण रूपमा कब्जा गरेका छन्। चीनको २०१७ को नेशनल इन्टेलिजेन्स ल अनुसार यी कम्पनीहरूले राज्यको खुफिया सेवालाई सहयोग गर्नुपर्ने कानुनी बाध्यता छ। यो एकाग्रताले सामान्य आर्थिक प्रतिस्पर्धाभन्दा बाहिर गएर प्रणालीगत जोखिम सिर्जना गरेको छ।
साइबर सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन् कि यी जोडिएका उपकरणहरूमा टाढाबाट पहुँच पाएको शत्रु पक्षले परम्परागत सैन्य आक्रमणबिना नै महादेशलाई पक्षाघात पार्न सक्छ। हार्डवेयर ब्याकडोर वा लाखौँ इन्भर्टरमा एकसाथ खराब अपडेट पठाएर बेइजिङले युरोपभर ठूला ब्लाकआउट निम्त्याउन सक्ने सैद्धान्तिक क्षमता राख्छ।
युरोपेली ऊर्जा नेटवर्कमा गम्भीर अवरोध पुर्याउन करिब १० गिगावाट विद्युत् नियन्त्रण पर्याप्त मानिन्छ। युरोपियन काउन्सिल अन फरेन रिलेसन्सका अनुसार चीनले अहिले २२० गिगावाटभन्दा बढीको आधारभूत पूर्वाधार नियन्त्रण गर्छ। यसको अर्थ बेइजिङको सत्तारुढ शासनलाई महादेशीय विद्युत् आपूर्तिको मास्टर स्विच नै सुम्पिएको छ।
युरोपियन कमिसनले मे २०२६ मा चिनियाँ इन्भर्टर खरिदमा ईयू कोष प्रयोग नगर्ने निर्णय लिएको छ। यो सही दिशामा एक कदम भए पनि अब कदम होइन, फड्को आवश्यक छ। यो निर्णय प्रणालीगत अन्धोपनको अपमानजनक स्वीकारोक्ति हो।
यो समस्या पहिले नै देखिएको घटनाको पुनरावृत्ति हो। एक दशकभन्दा बढी समयसम्म चिनियाँ दूरसञ्चार पूर्वाधारबारे चेतावनी बेवास्ता गरियो। हुवावे ५जी सङ्कटले बाध्य भएर मात्र पछि हट्नुपर्यो। अहिले ऊर्जा क्षेत्रमा उही गल्ती दोहोरिएको छ। सस्तो र अत्यधिक अनुदानित चिनियाँ आयातलाई राष्ट्रिय सुरक्षाभन्दा प्राथमिकता दिने राजनीतिक वर्गको गल्ती यसको कारण हो।
यो स्वयं-सिर्जित कमजोरी उत्तर आधुनिक युरोपेली परियोजनाको चरम विडम्बना हो। ऊर्जा स्वतन्त्रता र जलवायुसम्बन्धी नैतिक प्रदर्शनका नाममा महादेशका अभिजात वर्गले आफ्नो दैनिक बाँच्ने आधारलाई नै मुख्य रणनीतिक प्रतिद्वन्द्वीमा निर्भर बनाएका छन्।ग्रीन ट्रान्जिसन मार्फत ब्रसेल्सले सार्वभौमिकता, दिगोपना र सुरक्षाको वाचा गरेको थियो। तर नवीकरणीय ऊर्जा ग्रिडको डिजिटल स्नायु प्रणाली बेइजिङलाई एकाधिकारमा सुम्पेर युरोपेली सङ्घका नेतृत्वले ठिक उल्टो परिणाम निकाल्दै युरोपेलीहरूलाई ठूलो खतरामा पारेका छन्।