arrow

हुम्लामा चिसो बढ्यो: धारा र पानीको भाँडामा बरफ जम्न थाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
himpat-humla-81-9-13.jpg

हुम्ला। हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै जान थालेपछि पानीका धारामा बरफ जम्न थालेको छ। सदरमुकाम सिमकोटसहित उत्तरी भेगका उच्च भूभागमा बिहान-बेलुका चिसो अत्यधिब बढ्न थालेपछि खानेपानीका धारामा बरफ जम्न सुरु भएको हो।

डाँडाफयाका स्थानीय बाँच सुनारले बेलुकादेखि पानीका धारा खुला राखेपनि चिसो अत्यधिक हुँदा बिहान बरफ जमेको हुने बताए। उनले "घाम नलाग्दासम्म धारामा पानी नआउने समस्या छ। यस्तै जम्मा गरेर राखेका भाँडाका पानी पनि बरफ हुन थालेको हो,” भने।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, लिमी, यारी लगायतका क्षेत्रमा रातिको समयमा अत्यधिक चिसो हुने भएकाले बिहानको समयमा बरफ जम्न थालेको स्थानीय बताउँछन्। बोतल, बाल्टिन लगायतका सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुने गरेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए। यहाँको तापक्रम माइनसमा झरेको उनले जानकारी दिए।

यतिबेला बिहान-बेलुका र रातिको समयमा लिमीको तापक्रम माइनस दश डिग्रीसम्म पुग्ने गरेको छ। तापक्रम माइनसमा झरेपछि नागरिकले हिमपात नहुँदै यस वर्ष बढी चिसो महसुस हुन थालेको स्थानीय कुञ्चोक लामाले बताए। विगतका वर्षभन्दा यस वर्ष यहाँ चिसो अत्यधिक महसुस गरिएको उनको भनाइ छ।

चिसोका कारण घाम नलाग्दासम्म वृद्धवृद्धा, बालबालिकालाई घर बाहिर निस्कन समस्या हुने गरेको छ। कात्तिक दोस्रो साताअघि लिमी लगायत उच्च क्षेत्रमा रहेका प्रहरी चौकीहरू जिल्ला सदरमुकामतिर फिर्ता भइसकेका छन्। पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ