arrow

ओपेक प्लसको निर्णय

सन् २०२६ को पहिलो त्रैमासमा तेल उत्पादन वृद्धि रोकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
russian-oil.jpg

काठमाडौँ । पेट्रोलियम निर्यातक मुलुकहरूको सङ्गठन (ओपेक) र यसको सह–साझेदार समूह ‘ओपेक प्लस’ ले आगामी जनवरी, फेब्रुअरी र मार्च सन् २०२६ मा तेल उत्पादन वृद्धि रोक्ने निर्णय गरेको छ। उक्त निर्णय विश्व बजारको अवस्थालाई ध्यानमा राखेर गरिएको हो।

साउदी अरब, रसिया, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानसहितका सदस्य मुलुकहरूले भर्चुअल बैठक गरी आर्थिक र बजारको समीक्षा गरेका थिए। यस वर्षको अप्रिलदेखि निरन्तर उत्पादन बढाउँदै आएका यी मुलुकहरूले अब सावधानीपूर्वक रणनीति अपनाउँदै आवश्यक परे उत्पादन समायोजन गर्ने लचिलोपन राख्ने बताइएको छ।

ओपेक तेल उत्पादक मुलुकहरूको एक अन्तर्राष्ट्रिय सङ्गठन हो, जसको मुख्य उद्देश्य विश्व तेल बजारमा स्थिरता कायम राख्नु, उत्पादन र मूल्यमा सन्तुलन मिलाउनु र सदस्य मुलुकहरूको आर्थिक हितको संरक्षण गर्नु हो। ओपेकमा मुख्य रूपमा मध्यपूर्व, अफ्रिका र दक्षिण अमेरिका क्षेत्रका प्रमुख तेल उत्पादक मुलुकहरू सदस्य छन्। यसलाई विस्तार गर्दै केही तेल उत्पादन गर्ने अन्य देशहरूसँग सहकार्य गरेर गठन गरिएको समूहलाई ‘ओपेक प्लस’ भनिन्छ। यस समूहले विश्व तेल बजारमा उत्पादन समायोजन गरेर मूल्य स्थिरता र आपूर्ति नियन्त्रण गर्ने रणनीति अपनाउँछ।

ओपेक प्लसका अनुसार, सदस्य मुलुकहरूले आगामी जनवरी ४, २०२६ मा अर्को बैठक बस्ने र थप निर्णय लिने कार्यक्रम तय गरेका छन्। यस निर्णयले तेल बजारमा स्थिरता कायम राख्ने प्रयासको सङ्केत दिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ