arrow

एघार लाखमै 'थिचिएको' पर्यटनको रूपान्तरण अन्तरमहादेशीय उडानबाट: वीरेन्द्र बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
birendra-basnet-.jpg

काठमाडौँ। गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले नेपालमा बढ्दो बेरोजगारी र सीमित पर्यटक आगमनको समाधानका लागि देशको पर्यटन क्षेत्रलाई ‘इण्टरकन्टिनेन्टल फ्लाइट हब’ बनाउने रणनीति अघि सारेका छन्। उनले मङ्गलबार पोखरामा आयोजित ‘पर्यटनमय पोखरा’ कार्यक्रममा बोल्दै रोजगारी सिर्जनाका लागि पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

बस्नेतका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक १०–११ लाख 'पर्यटक श्रेणी'का आगन्तुक देखिए पनि त्यसमा गैरआवासीय नेपाली र विभिन्न दूतावास तथा संस्थामा कार्यरत विदेशीहरूको संख्या ठूलो रहने भएकाले वास्तविक पर्यटक संख्या ११ लाख वरिपरि 'थिंग्रिएको' छ। यो अवस्था मोड्न अन्तरमहादेशीय उडान अनिवार्य रहेको उनको भनाइ छ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) भौगोलिक र प्राविधिक हिसाबले वाइड–बडी जहाज उडानका लागि उपयुक्त रहेको दाबी गर्दै एयरबसका प्राविधिकसँगको अध्ययनलाई टेकेर ए३५०-१००० जस्ता ३६९ सिट क्षमताका जहाजले भैरहवाबाट टोरन्टो, न्युयोर्क, लस एन्जलससम्म सीधा उडान भर्न सक्ने स्पष्ट गरे। उनका अनुसार भैरहवाबाट पाँचवटा ए३५० जहाज निरन्तर सञ्चालन गर्न सकिए वर्षमा ५ लाख नयाँ पर्यटक भित्र्याउन सकिने छ।

बस्नेतले अन्तरमहादेशीय उडान विस्तारका लागि नेपाल वायुसेवा निगमलाई ‘पूर्ण रूपान्तरण’ गर्नुपर्ने आवश्यकता दोहोर्‍याए। उनले १८० मिलियन डलर मूल्य पर्ने जहाज नगद किन्ने पुरानो अभ्यास त्याग्दै अन्तर्राष्ट्रिय रूपमा १० प्रतिशत डिपोजिटमा ‘लिज–परचेज’ मोडेलबाट जहाज खरिद गर्नुपर्ने बताए।

त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे बोल्दै उनले एयरबस ए३१९ (१४० सिट) जस्ता जहाजले बैंककसहित दक्षिण र दक्षिणपूर्व एसियाका प्रमुख गन्तव्यमा सीधी उडान भर्न सकिने बताए। उनले यसमा प्राविधिक समस्या नभई 'राजनीतिक इच्छाशक्तिको' खाँचो रहेको स्पष्ट पारे। उनले व्यवस्थापन, मार्केटिंग र योजना आधारित पर्यटन पूर्वाधार विस्तार गर्न सके नेपालले बाली जस्तै २०–३० लाख पर्यटक आकर्षित गर्न सक्ने दाबी गर्दै भैरहवा विमानस्थलको पूर्ण सदुपयोग नै नेपालको पर्यटन विस्तारको केन्द्रबिन्दु हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ