arrow

व्यापार सन्तुलन र युक्रेन युद्धमा चीनको भूमिकाबारे छलफल गर्न फ्रान्सेली राष्ट्रपति म्याक्रोन चीनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
macron-xi-china-france.jpg

काठमाडौँ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन व्यापार, कूटनीति तथा युक्रेन–रुस युद्धबारे छलफल गर्न तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन आइपुगेका छन्। उनले बेइजिङलाई रुसमाथि दबाब दिई युक्रेनमा युद्धविरामको वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ।

फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले दुवै पक्षका लागि फाइदाजनक, दिगो र ठोस आर्थिक विकास सुनिश्चित गर्ने उद्देश्यसहित व्यापारिक तथा आर्थिक सहकार्य सन्तुलित गर्ने एजेन्डा अघि सार्नेछन्। फ्रान्सले चिनियाँ लगानी आकर्षित गर्ने तथा फ्रान्सेली उत्पादित सामानका लागि बजार पहुँच सहज बनाउने लक्ष्य राखेको छ। भ्रमणमा ऊर्जा, खाद्य उद्योग तथा उड्डयन क्षेत्रसम्बन्धी धेरै महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा छ। फ्रान्सेली अधिकारीहरूले म्याक्रोन ‘निष्पक्ष र पारस्परिक बजार पहुँच’ को पक्षमा दृढ भएर उभिएको बताएका छन्।

म्याक्रोन दम्पती बुधबार बिहान बेइजिङ विमानस्थल पुगेका थिए, जहाँ चिनियाँ विदेशमन्त्री वाङ यीले औपचारिक स्वागत गरे। दिनको अन्त्यमा उनीहरूले फरबिडन सिटीभित्र रहेको १८औँ शताब्दीको कियानलोङ गार्डन अवलोकन गरे।

राष्ट्रपति म्याक्रोन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीचको वार्ताको प्रमुख एजेन्डामा युक्रेन–रुस युद्ध पनि रहनेछ। सोमबार पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविरामका सम्भावित आधारहरूबारे छलफल गरेपछि म्याक्रोन चीनसँग ठोस सहयोगको अपेक्षामा छन्। फ्रान्सका एक शीर्ष कूटनीतिक अधिकारीका अनुसार पेरिस चीनले रुसलाई सकेसम्म चाँडो युद्धविरामका लागि राजी गराउने प्रयास गरोस् र वार्ताबाट प्राप्त हुने सहमतिको आधारमा युक्रेनका लागि दीर्घकालीन सुरक्षा ग्यारेन्टी निर्माण गर्न मद्दत गरोस् भन्ने चाहन्छ।

म्याक्रोनले बिहीबार ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सीसँग भेट गर्नेछन्। त्यसपछि दुवै नेता फ्रान्को–चिनियाँ व्यापार मञ्चमा सहभागी हुनेछन्। उनले राष्ट्रिय जनकांग्रेसका अध्यक्ष झाओ लेजी तथा प्रधानमन्त्री ली किआङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। फ्रान्सेली राष्ट्रपति दम्पती शुक्रबार सिचुआन प्रान्तको चेङ्डु प्रस्थान गर्नेछन्, जहाँ राष्ट्रपति सीसँग विशेष वार्ता हुने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ